जनकपुरधाम, १८ असार : गर्मीयाम सुरु हुनासाथ सप्तरीको सुरुङ्गा नगरपालिका–६ स्थित श्रीपुर गाउँको हावा नै आँपको सुगन्धले भरिन थाल्छ । हरियालीले ढाकिएका बगैँचामा लटरम्म झुन्डिएका पहेँलपुर आँप, बोटमुनि व्यस्त किसान र गाउँमै आइपुग्ने व्यापारीको भीडले श्रीपुरको दैनिकी फेरिदै गएको छ । यही दृश्यले अहिले श्रीपुरलाई ‘आँपको गाउँ’का रूपमा छुट्टै पहिचान दिलाइरहेको छ ।
पूर्व–पश्चिम राजमार्ग हुँदै सिरहाको लहानबाट करिब आठ किलोमिटर पूर्व र त्यहाँबाट चुरे क्षेत्रतर्फ करिब एक किलोमिटर उत्तर लागेपछि पुगिने यो गाउँमा आँप केवल फल मात्र होइन, यहाँका वासिन्दाहरुको जीवनको आधार हो । यहाँका अधिकांश परिवारको आयआर्जन, शिक्षा, रोजगारी र आर्थिक गतिविधिको केन्द्रबिन्दु नै आँप खेती बनेको छ ।
गाउँका प्रायः हरेक घरसँग जोडिएका साना–ठूला बगैँचामा माल्दह, दशहरी, लङ्गडा, चौँसा, बम्बई र अम्रपालीलगायतका जातका आँप फल्छन् । यस गाउँका अधिकांश किसानले दशकौँदेखि आँप खेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका छन् । साना–ठूला बगैँचासहित धेरै किसानले व्यावसायिक रूपमा सयौँ बोट आँप लगाएका छन् । यहाँ माल्दह, दशहरी, लङ्गडा, बम्बई, चौँसा, अम्रपालीलगायतका जातका आँप उत्पादन हुन्छन् । अनुकूल हावापानी, उर्वर माटो र किसानको अनुभवका कारण यहाँको आँप स्वाद, मिठास र गुणस्तरका हिसाबले बजारमा लोकप्रिय मानिन्छ ।
गर्मी सुरु भएसँगै श्रीपुरका बगैँचामा व्यापारीको चहलपहल बढ्ने गर्छ । व्यापारी गाउँमै पुगेर बोटबाटै आँप खरिद गर्छन् र त्यसपछि उत्पादन जनकपुरधाम, राजविराज, विराटनगर, काठमाडौंलगायतका बजारमा पुग्ने गरेको छ । उत्पादन राम्रो भएका वर्षमा यहाँको आँप भारतीय सीमावर्ती बजारसम्म पनि निर्यात हुने गरेको स्थानीय किसान दिनेश चौधरी बताउनुहुन्छ । उहाँका अनुसार आँप खेतीले गाउँमा नगद आम्दानी भित्रयाउनुका साथै सयौँ स्थानीयलाई मौसमी रोजगारी उपलब्ध गराएको छ । आँप टिप्ने, वर्गीकरण गर्ने, प्याकिङ गर्ने र बजारसम्म पु¥याउने काममा परिवारका सदस्यदेखि स्थानीय युवासम्मको सक्रिय सहभागिता रहने गरेको छ ।
स्थानीय किसान जगदीश चौधरीका अनुसार आँप खेतीले गाउँको सामाजिक सम्बन्धलाई पनि बलियो बनाएको छ । बगैँचा संरक्षणदेखि फल सङ्कलन र ढुवानीसम्मका काममा सामूहिक श्रम र सहकार्यको संस्कृति विकास भएको उहाँको भनाइ छ । पछिल्लो डेढ दशकदेखि व्यावसायिक रूपमा आँप खेती गर्दै आएका किसान चौधरीले यसवर्ष करिब सात लाख रुपैयाँ आम्दानी हुने अपेक्षा गर्नुभएको । “एक वर्षमै पाँचदेखि सात लाख रुपैयाँसम्मको आँप उत्पादन हुन्छ भन्ने विश्वास नै थिएन,” उहाँ भन्नुहुन्छ, “उत्पादन बढेपछि थप दुई बिघा क्षेत्रमा आँप विस्तार गर्ने योजना बनाएको छु ।” उहाँले आँप बिक्रीबाट पक्की घर निर्माण गर्नुका साथै आफ्ना छोराछोरीलाई निजी विद्यालयमा अध्ययन गराउन सफल भएको बताउनुहुन्छ । उहाँका अनुसार आँप खेतीले परिवारको आर्थिक अवस्था उल्लेखनीय रूपमा सुधार भएको छ ।
स्थानीय किसान रामवीर चौधरीले यस वर्ष आँपको राम्रो उत्पादन हुने अपेक्षामा थप बगैँचा खरिद गर्नुभएको थियो । तर असिना र हुरीका कारण अपेक्षाभन्दा कम उत्पादन भएको उहाँको भनाइ छ । “मौसमले साथ दिएको भए यसबर्ष १२÷१३ लाख रुपैयाँभन्दा बढीको आँप उत्पादन हुने थियो,” उहाँ भन्नुहुन्छ, ‘‘बजारमा मूल्य केही घटेपनि यस वर्ष घाटा भने नलागेको उहाँको कथन छ । गतवर्ष उत्पादन कम भएकाले आँपको मूल्य उच्च रहेको स्मरण गर्दै किसान सञ्जीव चौधरीले यस वर्ष उत्पादन बढेपछि मूल्य घटेको बताउनुहुन्छ “उत्पादन धेरै भएपछि सस्तो मूल्यमा बिक्री गर्नुप¥यो, तर घाटा भने भएन्,” उहाँले भन्नयो ।
श्रीपुरका अधिकांश परिवारको नगद आम्दानीको मुख्य आधार नै आँप बिक्री हो । कतिपय परिवारले यही आम्दानीबाट आफ्ना छोराछोरीको शिक्षा, स्वास्थ्य र दैनिक खर्च धान्दै आएका छन् । यद्यपि आँप खेती चुनौतीरहित छैन् । असिना, हुरी, लामो खडेरी तथा असमयको वर्षाले उत्पादनमा प्रत्यक्ष असर पार्ने गरेको किसानको अनुभव छ । रोग–कीराको प्रकोप, आधुनिक भण्डारण सुविधाको अभाव, प्रशोधन उद्योग नहुनु र बजार मूल्यमा हुने उतारचढावले किसानको आम्दानीलाई अझै अस्थिर बनाइरहेको किसानहरुको भनाइ छ ।
कृषि विज्ञ दिनेश यादवका अनुसार श्रीपुरमा आधुनिक बगैँचा व्यवस्थापन, सिँचाइ विस्तार, कोल्ड स्टोर, प्याकिङ केन्द्र तथा आँप प्रशोधन उद्योग स्थापना गर्न सके यस क्षेत्रको आर्थिक सम्भावना उल्लेखनीय रूपमा बढ्न सक्छ । आँपबाट जुस, पल्प, अचार, सुकुटी आँपलगायत मूल्य अभिवृद्धि भएका उत्पादन विकास गर्न सके किसानको आम्दानी बढ्नुका साथै स्थानीय स्तरमै रोजगारी सिर्जना हुने उहाँको भनाइ छ । किसानले उन्नत जातका बिरुवा प्रयोग गर्न थालेको, बगैंचा व्यवस्थापन तथा सिँचाइ प्रणालीमा सुधार आएको भएपनि हावाहुरी र रोग–कीराको प्रकोपका कारण यसवर्ष उत्पादन घटेको कृषि विज्ञ यादवले बताउनुभयो ।
पछिल्ला वर्षमा श्रीपुरलाई ‘आँपको गाउँ’ का रूपमा प्रवर्द्धन गर्ने प्रयास पनि तीव्र बन्दै गएको छ । सरकार पनि सप्तरीलाई आँप पकेट क्षेत्रको रुपमा विकास गर्न थालेको छ । बगैँचा अवलोकन, स्थानीय उत्पादनको प्रदर्शनी र कृषि पर्यटनसँग जोड्ने कार्यक्रम सञ्चालन गर्न सके श्रीपुरले राष्ट्रियस्तरमा छुट्टै पहिचान बनाउन सक्ने सुरुङ्गा नगरपालिका–६ का वडाध्यक्ष दिनेशकुमार राम बताउनुहुन्छ ।
उहाँका अनुसार प्राकृतिक सौन्दर्य, हरियाली र स्वादिलो आँपले आन्तरिक पर्यटक आकर्षित गर्ने पर्याप्त आधार रहेको छ । किसानको मेहनत, आधुनिक प्रविधिको प्रयोग, प्रभावकारी बजार व्यवस्थापन र सरकारी सहयोगलाई एकीकृत गर्न सके श्रीपुरले भविष्यमा नेपालको फलफूल उत्पादन र कृषि पर्यटनको सफल नमुनाका रूपमा स्थापित हुने सम्भावना प्रबल रहेको वडाअध्यक्ष रामको कथन छ । कृषि ज्ञान केन्द्र सप्तरीका अनुसार सप्तरीमा यसवर्ष आठ हजार ३८७ हेक्टर क्षेत्रफलबाट ७५ हजार ५०० मेट्रिकटन आँप उत्पादन भएको छ ।
तराईको उर्बर भूमि र अनुकूल हावापानीका कारण सप्तरीलाई आँप उत्पादनको केन्द्र मानिन्छ । मिठास र स्वादका लागि देशभर प्रसिद्धि कमाएको सप्तरीको आँपले यसवर्ष पनि किसानलाई राम्रो आम्दानी दिएको छ । प्रदेश सरकारले फलफूलखेती विस्तार, व्यावसायिक बगैँचा प्रवर्द्धन, उन्नत बिरुवा वितरण तथा बजार व्यवस्थापनमा जोड दिँदै आएको कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख रोशनकुमार मेहता बताउनुहुन्छ । उहाँका अनुसार उत्पादन घटे पनि दीर्घकालीन रूपमा आँपखेतीको व्यवसायीकरण र उत्पादकत्व वृद्धि गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
आँप उत्पादनका लागि अग्रणी मानिएको मधेस प्रदेशमा यसवर्ष आँपखेतीको क्षेत्रफल बढेपनि उत्पादन र उत्पादकत्वमा कमी आएको छ । कृषि विकास निर्देशनालय, नक्टाझिज धनुषाका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा प्रदेशभर ३२ हजार ५७४ हेक्टर क्षेत्रफलमा आँपखेती गरिएको छ । उक्त क्षेत्रफलबाट प्रतिहेक्टर औसत ९ दशमलव ४ मेट्रिकटन उत्पादकत्वका दरले दुई लाख ९४ हजार ५६७ मेट्रिकटन आँप उत्पादन भएको बागबानी अधिकृत किरण विश्वकर्माले जानकारी दिनुभयो ।अघिल्लो आव २०८१÷८२ मा २९ हजार ८८० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ११ दशमलव ४३ मेट्रिकटन उत्पादकत्वका दरले तीन लाख ४१ हजार ४४५ मेट्रिक टन आँप उत्पादन भएको थियो । यस आधारमा हेर्दा चालु वर्ष आँपखेतीको क्षेत्रफल दुई हजार ६९४ हेक्टरले बढे पनि उत्पादन ४६ हजार ८७८ मेट्रिकटनले घटेको देखिएको छ ।
निर्देशनालयका अनुसार यसवर्ष सबैभन्दा बढी उत्पादकत्व बारामा प्रतिहेक्टर १३ दशमलव ८० मेट्रिकटन र सबैभन्दा कम सर्लाहीमा प्रतिहेक्टर ६ दशमलव २० मेट्रिक टन रहेको छ । जिल्लागत रूपमा सप्तरीमा आठ हजार ३८७ हेक्टर क्षेत्रफलबाट ७५ हजार ५०० मेट्रिकटन, सिरहामा नौ हजार ५० हेक्टरबाट ७२ हजार ४०० मेट्रिक टन तथा रौतहटमा चार हजार ७७० हेक्टर क्षेत्रफलमा ५४ हजार ३७८ मेट्रिकटन आँप उत्पादन भएको छ । त्यसैगरी सर्लाहीमा दुई हजार १०० हेक्टरमा १३ हजार २० मेट्रिकटन, महोत्तरीमा तीन हजार हेक्टरमा २९ हजार ७०० मेट्रिकटन, धनुषामा तीन हजार ३२५ हेक्टरमा २३ हजार २७५ मेट्रिकटन, बारामा एक हजार ४९५ हेक्टरमा २० हजार ६३१ मेट्रिकटन तथा पर्सामा ४४७ हेक्टर क्षेत्रफलमा पाँच हजार ९६३ मेट्रिकटन आँप उत्पादन भएको तथ्याङ्क छ ।
मधेस प्रदेश मालदह, दशहरी, बम्बई, कलकतिया र आम्रपालीलगायत जातका आँप उत्पादनका लागि परिचित छ । यहाँ उत्पादन हुने आँप प्रदेशभित्रका साथै सङ्घीय राजधानी काठमाडौँ र देशका अन्य प्रमुख बजारमा आपूर्ति हुँदै आएको छ । प्रदेश सरकारले फलफूल खेती विस्तार, व्यावसायिक बगैँचा प्रवर्द्धन, उन्नत बिरुवा वितरण तथा बजार व्यवस्थापनमा जोड दिँदै आएको कृषि निर्देशनालयका प्रमुख जितेन्द्र यादवले बताउनुभयो । उहाँका अनुसार उत्पादन घटे पनि दीर्घकालीन रूपमा आँपखेतीको व्यवसायीकरण र उत्पादकत्व वृद्धि गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

