स्थानीयवासीका सहयोगमा प्रहरी भवन पुनर्निर्माण

कास्की, १८ असारः पोखरा महानगरपालिका गगनगौँडास्थित वडा प्रहरी कार्यालयको भवन स्थानीयवासीको सहयोगमा पुनर्निर्माण गरिएको छ ।

गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको भवन स्थानीय समुदायको सक्रियताबाट पुनर्निर्माण भर्ई हस्तान्तरण गरिएको छ ।

आन्दोलनको क्रममा क्षतिग्रस्त बनेको प्रहरी भवन स्थानीयकै पहलमा पुनः सञ्चालनयोग्य बनेपछि समुदाय र प्रहरीबीचको सहकार्यको उदाहरणका रूपमा हेरिएको छ ।

पोखरा महानगरपालिका २८, २९ र ३० नम्बर वडाको पहलमा गठन गरिएको पुनर्निर्माण समितिले करिब रु पाँच लाख बराबरको लागतमा भवनको मर्मत तथा पुनर्निर्माण सम्पन्न गरेको हो । समितिका अध्यक्ष कुशल गुरुङको नेतृत्वमा स्थानीयवासी, समाजसेवी तथा विभिन्न पक्षको सहयोग जुटाएर भवनलाई पुनः प्रयोगयोग्य बनाइएको थियो ।

पुननिर्मित भवन जिल्ला प्रहरी कार्यालय कास्कीलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी केवल प्रहरीको मात्र नभई सम्पूर्ण नागरिकको साझा दायित्व भएको बताउनुभयो ।

“समुदाय र प्रहरीबीच विश्वास, सहकार्य र सहभागिता बलियो हुँदा मात्रै समाजमा दिगो शान्ति, अमनचयन र कानुनी शासन स्थापित गर्न सकिन्छ । आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको प्रहरी भवन पुनर्निर्माणका लागि स्थानीय समुदायले देखाएको अग्रसरताले नागरिक प्रहरी साझेदारी र सम्बन्धलाई थप सुदृढ बनाउँछ ।” प्रहरी उपरीक्षक कार्कीले भन्नुभयो ।

निर्माण समितिका संयोजक कुशलले प्रहरी कार्यालय स्थानीय नागरिकको सुरक्षासँग प्रत्यक्ष जोडिएको संस्था भएकाले यसको पुनर्निर्माणलाई सामाजिक उत्तरदायित्वका रूपमा लिएको बताउनुभयो ।

“सुरक्षित समाज निर्माणका लागि प्रहरी र नागरिकबीचको साझेदारी अझ सुदृढ बनाउन यस्ता सहकार्यलाई निरन्तरता दिनुपर्नेछ ।” उहाँले भन्नुभयो । गत वर्ष भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा वडा प्रहरी कार्यालय गगनगौडामा आगजनी तथा तोडफोड हुँदा भवनमा क्षति पुगेको थियो ।

त्यसयता अस्थायी व्यवस्थापनमार्फत सेवा सञ्चालन हुँदै आएकोमा स्थानीय समुदायको सहयोगमा भवन पुनर्निर्माण सम्पन्न भएपछि प्रहरी सेवा अझ व्यवस्थित र प्रभावकारी विश्वास स्थानीयले गरेका छन् ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।