थलथलेमा खानेपानीको समस्या हट्यो

भोजपुर, ११ असारः यहाँको थलथले खानेपानी आयोजनामार्फत ३३ घरमा ‘एक घर, एक धारा’ जडान भएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय अन्तर्गत सञ्चालन गरिएको यो योजनाबाट खाँदबारी नगरपालिका–६ सङ्खुवासभाका स्थानीयको घरघरमा धारा जडान गरिएपछि सहजता भएको हो । आयोजना सम्पन्न भएसँगै टाढाबाट पानी बोक्ने बाध्यता हटेको र दैनिक जीवन सहज बनेको स्थानीयवासीले बताएका छन् ।

निर्माण उपभोक्ता समितिका अध्यक्ष उमनाथ सारु मगरका अनुसार आयोजना सञ्चालनमा आएपछि खानेपानी अभाव झेलिरहेका ३३ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । “पहिले घण्टौँ हिँडेर पानी ल्याउनुपथ्र्यो, अहिले घरमै धारा जडान भएपछि निकै सहज भएको छ”, उहाँले बताउनुभयो ।

यस आर्थिक वर्षमा आयोजनाको इन्टेक निर्माण गरिएको छ भने सिरान टोलमा १४ घनमिटर क्षमताको ट्याङ्कीबाट वितरण लाइन विस्तार गरी ३३ परिवारमा धारा जडान गरिएको हो । आगामी आर्थिक वर्षमा थप १० घनमिटरको ट्याङ्की निर्माण गरी वितरण प्रणाली अझ विस्तार गर्ने लक्ष्य राखिएको कार्यालयले जनाएको छ ।

कूल अनुमानित लागत श्रमदानसहित रु एक करोड ७० लाख १३ हजार ६३२ रहेको यो आयोजना आर्थिक वर्ष २०७९÷८० देखि सुरु गरिएको हो । दीर्घकालीन रूपमा १०२ घरधुरीलाई खानेपानी सुविधा उपलब्ध गराउने लक्ष्य लिइएको यस योजनाले क्रमशः आफ्नो लक्ष्यतर्फ अघि बढिरहेको छ । स्थानीयका अनुसार, आयोजनाले पानीको सहज पहुँच मात्र नभई सरसफाइ र स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।