काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ३ लाख २० हजार कित्ता संस्थापक समूहको सेयर लिलामी प्रक्रियामार्फत बिक्री खुला गरेको छ। कम्पनीले बुधबारदेखि उक्त सेयर बिक्रीका लागि आवेदन आह्वान गरेको हो।
कम्पनीका अनुसार बिक्रीमा राखिएको सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन कम्पनीको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलमा पेश गर्न सकिनेछ।
सेयर खरिदका लागि आवेदकले आफूले खरिद गर्न चाहेको सेयर संख्या र प्रस्तावित मूल्य उल्लेख गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य १६५ रुपैयाँ तोकेको छ।
लिलामीमा सहभागी हुन कम्तीमा १ लाख कित्ता सेयरका लागि आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ। तोकिएको अवधिभित्र प्राप्त बोलपत्रका आधारमा उच्च मूल्य प्रस्ताव गर्ने आवेदकलाई सेयर बाँडफाँड गरिनेछ।

