सङ्खुवासभामा पहिरोका कारण तीन परिवार विस्थापित

किमाथाङ्का (सङ्खुवासभा) ८ असारः अविरल वर्षासँगै आएको पहिरोका कारण सङ्खुवासभाको खाँदबारी नगरपालिका र सभापोखरी गाउँपालिकाका तीन परिवार विस्थापित भएका छन् ।

शनिबार पहिरोले सभापोखरी–१ धुपुमा धनबहादुर विश्वकर्माका चार जनाको परिवार र शान्तिराम पोख्रलका चार जनाको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले बताउनुभयो ।

पहिरो जोखिमकै कारण खाँदबारी नगरपालिका–६ खानीडाडाँमा यारबहादुर तामाङका ६ जनाको परिवार पनि विस्थापित भएको प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो । उहाँका अनुसार पहिराले विश्वकर्माको दुईतले घर पछाडितिरको भाग भत्काएको छ । पहिरोकै कारण सोही ठाउँका शान्तिरामको घरसमेत जोखिममा परेको छ । फेरि पहिरो जानसक्ने र दुवै घरमा क्षति पुग्ने सम्भावना देखिएपछि स्थानीय निकायसँग समन्वय गरी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

पहिरोबाट विस्थापित अहिले छिमेकीको शरणमा बसेका छन् । पहिरो कारण सभापोखरी–१ धुपुमा खेतीयोग्य जमिन पुरिएको छ । धुपुका राजन राई, कर्ण राई र अम्बर राईको धान रोप्ने तयारी रहेको खेत पहिरोले कटान तथा पुरिएको प्रहरीले जनाएको छ । धुपु प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलीले विस्थापित तथा जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिरहेको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।