पर्वत, ८ असारः पर्वतको कुश्मा नगरपालिकाले स्थानीय किसानबाट रकम सङ्कलन गरेको तीन महिना बितिसक्दासम्म (मिनिटिलर) यान्त्रिक हलो वितरण नगरेपछि पर्वतको कुश्मा नगरपालिकाका किसान चिन्तित बनेका छन् ।
नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो उपलब्ध गराउनेगरी गत चैतमा नै ५० प्रतिशत रकम किसानबाट सङ्कलन गरेको थियो । कुश्मा नगरपालिकाका १४ वडाबाट ७०५ किसानले यान्त्रिक हलो उपलब्धताका लागि नगरपालिकामा निवेदन दिए पनि नगरपालिकाले विभिन्न विधामार्फत २०० किसानलाई छनोट गरेको थियो ।
छनोटपश्चात् ५० प्रतिशतबापतको रु २० हजार प्रतिकिसान सङ्कलन गरे पनि रकम लिएको तीन महिना बितिसक्दासम्म यान्त्रिक हलो उपलब्ध गराउन सकेको छैन । कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण पौडेलका अनुसार बोलपत्र आह्वानपश्चात् छनोट भएको क्वालिटी रिन्युयबल प्रालि काठमाडौँले समयमा गुणस्तरीय उपकरण उपलब्ध गराउन नसक्दा किसानलाई यान्त्रिक हलो वितरण गर्न ढिलाइ भएको बताउनुभयो ।
नगरपालिकाले उक्त कम्पनीसँग रु ६२ लाख ७९ हजार लागतमा यान्त्रिक हलो उपलब्ध गराउनका लागि सम्झौता गरिसकेको छ । गत जेठ २१ गते सम्झौता भए पनि अहिले असारमा मात्रै उक्त कम्पनीले परीक्षणका लागि यान्त्रिक हलो उपलब्ध गराएको र दुईपटकसम्म उपलब्ध भएका उपकरण चेक जाँचमा समस्या भएपछि पुनः ल्याउनका लागि अनुरोध गरिएको कृषि शाखाका निमित्त प्रमुख बलबहादुर जिटीले बताउनुभयो ।
जिटीका अनुसार नगरपालिकाले माग गरेको हलो कम्तीमा सात हर्जपावर र ८० किलो तौल हुनुपर्नेमा त्यो नभएपछि परीक्षणका लागि उपलब्ध गराएको हलो फिर्ता पठाएर अर्को माग गरिएको बताउनुभयो । नगरपालिकामा हलोका लागि निवेदन दिए पनि रकम जम्मा गरेको तीन महिनासम्म हलो उपलब्ध नहँुदा आफूहरूले ठूलो रकम खर्च गरेर बाँझो खेतबारी जोत्नुपर्ने अवस्था आएको कुश्मा नगरपालिका–२ का किसान टीकाराम शर्माले बताउनुभयो ।
“नगरपालिकाबाट समयमा नै गुणस्तरीय यान्त्रिक हलो आउला र वर्षेबाली लगाउँला भन्ने थियो तर तीन महिना बितिसक्यो हलो आएन”, उहाँले भन्नुभयो, “अहिले प्रतिघण्टा रु एक हजार तिरेर जोत्नुपर्ने अवस्था आएको छ”, उहाँजस्तै अन्य किसानको पनि समयमा हलो उपलब्ध नगराएकोप्रति गुनासो व्यक्त गरेका छन् ।
सम्झौता गरेको कम्पनीले समयमा गुणस्तरीय सामग्री उपलब्ध गराउन नसक्दा किसानलाई सास्ती भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो । उहाँले जतिसक्दो छिटो किसानलाई हलो उपलब्ध गराउने गरी लागिएको बताउनुभयो । अहिले धान रोप्ने समयमा हलो उपलब्ध नहुँदा किसान ठूलो समस्यामा परेका छन् । अहिले पर्वतमा धान र कोदो रोप्न किसानलाई भ्याइनभ्याई भएको छ ।

