एनआरएनए नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती रहेको निष्कर्ष

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले एनआरएन नागरिकता प्राप्त भए पनि आवश्यक कानुनी, प्रशासनिक र संवैधानिक सुधार नहुँदा यसको पूर्ण कार्यान्वयन हुन नसकेको निष्कर्ष निकालेको छ ।

‘नागरिकताको निरन्तरता र एनआरएन नागरिकताको वर्तमान अवस्था’ विषयक वेबिनारमा सहभागीहरूले बैंकिङ, मालपोत, राष्ट्रिय परिचयपत्र, लगानी, उत्तराधिकार र अध्यागमनलगायतका अधिकार व्यवहारिक रूपमा प्रयोग गर्न अझै कठिनाइ रहेको बताएका छन् ।

कार्यक्रममा एनआरएनएका पदाधिकारीहरूले गैरआवासीय नेपाली सम्बन्धी एकीकृत ऐन शीघ्र पारित गर्न, सम्बन्धित कानुन संशोधन गर्न र आवश्यक संवैधानिक सुधार गर्नुपर्नेमा जोड दिएका छन्।

संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले ‘एकपटकको नेपाली, सधैंको नेपाली’ अवधारणालाई व्यवहारमा लागू गर्न सरकार, राजनीतिक नेतृत्व र विश्वभरका गैरआवासीय नेपाली एकजुट हुनुपर्ने बताए।

एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले नागरिकता प्राप्त भए पनि सम्बन्धित ऐन संशोधन नभएसम्म त्यसको पूर्ण लाभ लिन नसकिने उल्लेख गर्दै एकीकृत कानुन र नीतिगत सुधार अपरिहार्य रहेको बताए।

वेबिनारमा अमेरिका, बेलायत, क्यानडा, जापान, हङकङलगायत विभिन्न देशका प्रतिनिधिहरूले नागरिकता, परिचयपत्र, वंशजको नागरिकता र अध्यागमनसम्बन्धी समस्याबारे सुझाव दिएका थिए।

About the author

Jayanti Shiwakoti
By Jayanti Shiwakoti
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।