जुम्लामा विद्यालयस्तरीय ‘एनसिसी’ तालिम सञ्चालन

जुम्ला, ४ असारः जुम्लाको कनकासुन्दरी गाउँपालिका– ५ स्थित कनकासुन्दरी माध्यमिक विद्यालयका विद्यार्थीलाई नेपाली सेनाले विद्यालयस्तरीय राष्ट्रिय सेवा दल (एनसिसी) जुनियर डिभिजन तालिम प्रदान गरेको छ ।

जुम्लास्थित नेपाली सेनाको देवीदत्त गणले सो विद्यालयका विद्यार्थीलाई यही असार १ गतेदेखि राष्ट्रिय सेवा दल जुनियर तालिम आज सञ्चालन गरिएको देविदत्त गणका गणपति प्रमुख सेनानी धीरज थापाले बताउनुभयो ।

एकसय दिनको एनसिसी तालिमअन्तर्गत ७९ दिन जिल्लामै सञ्चालन हुने छ । बाँकी २१ दिन नेपालगञ्जमा तालिम सञ्चालन हुने भएको छ । तालिममा विद्यार्थीलाई राष्ट्रप्रेम, नेतृत्व विकास, अनुशासन, जवाफदेहिता, इमानदारिता र बफादारीताबारे प्रशिक्षित गरिने प्रमुख सेनानी थापाको भनाइ छ ।

कनकासुन्दरी गाउँपालिकाका प्रमुख दामोदरप्रसाद आचार्यले विपद् व्यवस्थापन, सरसफाइ तथा वातावरण संरक्षणलगायतका विषयमासमेत जानकारी गराइने सो तालिमको महत्व दीर्घकालीन रहेको बताउनुभयो ।

विद्यालयले नेपाली सेनाको पहलमा हुने सो तालिमबाट राष्ट्र र राष्ट्रियता प्रतिबद्ध, वातावरण संरक्षणमा सचेत तथा अनशासित जनशक्ति निर्माणमा सहयोग पुग्ने अपेक्षा गरेको छ । नेपाली सेनाले देशव्यापी रुपमा यसकिसिमको तालिम कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।