विद्यालयलाई अनुदानः शिक्षक विद्यार्थीलाई पुरस्कार

भजनी (कैलाली), ३ असारः कैलालीको जानकी गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयलाई अनुदानदेखि शिक्षक र विद्यार्थीलाई पुरस्कृत गर्न थालेको छ । शैक्षिकसत्र २०८२ को वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई गाउँपालिकाले नतिजामा आधारित अनुदान प्रदान गरेको छ । नतिजामा आधारित अनुदान वितरणका लागि गाउँपालिकाले कार्यविधि बनाएर शैक्षिक गुणस्तर बढाउनका लागि त्यस्तो व्यवस्था लागू गरेको हो ।

शैक्षिकसत्र २०८२ मा माध्यमिक तहतर्फ सबैभन्दा बढी विद्यार्थी उत्तीर्ण गराउन सफल जनता मावि मुनुवाले रु चार लाख नतिजामा आधारित अनुदान प्राप्त गरेको छ । त्यसैगरी, दोस्रो हुने राष्ट्रिय मावि अमौराले रु दुई लाख ५० हजार अनुदान पाउँदा भृकुटी मावि सुवर्णपुरले रु एक लाख ५० हजार प्राप्त गरेको छ ।

आधारभूत तह कक्षा ८ सम्मको विद्यालयहरूमा राष्ट्रिय आधारभूत विद्यालय खैरिपुरले वर्षको उत्कृष्ट विद्यालय बन्दै रु तीन लाख अनुदान पाएको छ । भृकुटी मावि सुवर्णपुरले आधारभूत तहतर्फ पनि दोस्रो स्थान हासिल गर्दै रु दुई लाख अनुदान पाएको छ । “शिक्षालाई प्रतिस्पर्धी बनाई बढीभन्दा बढी विद्यार्थीको नतिजा सुधार होस् भन्नका लागि यो कार्यक्रम ल्याइएको हो ।” गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले भन्नुभयो, “अर्को वर्ष हामी प्रथम हुन्छौँ भने शिक्षक अनि विद्यालय प्रशासनमा स्वस्थ प्रतिस्पर्धा गराउनका लागि पनि कार्यक्रम प्रभावकारी रहेको छ ।”

गाउँपालिकाले शैक्षिक गुणस्तर वृद्धिसँगै विषय शिक्षकहरूलाई आफ्नो विषयप्रति जिम्मेवार बनाउन २०८२ देखि शिक्षकहरूसँग करार सम्झौता गर्न थालेको छ । त्यसैअनुसार आफ्नो विषयमा सबैभन्दा बढी विद्यार्थी उत्तीर्ण गराउने शिक्षकलाई गाउँपालिकाले रु १५ हजार नगदसहित सम्मान गर्न थालेको छ । “हामीले नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान र सामाजिक विषय शिक्षकलाई आफ्नो विषय र विद्यार्थीको सिकाइमा दत्तचित्त बनेर काम गर्न उत्प्रेरित गर्न करार सम्झौता गर्ने गरेका छौँ ।”

गाउँपालिकाका शिक्षा शाखा प्रमुख धर्मानन्द कपाडीले भन्नुभयो, “कक्षा १० को एसइई परीक्षा र कक्षा ८ को परीक्षामा जुन शिक्षकले आफ्नो विषयमा सबैभन्दा बढी विद्यार्थी सफल गराउन सक्नुभयो उहाँलाई नगदसहित पुरस्कार दिन थालिएको हो ।”

यसले शिक्षकलाई पेसाप्रति जिम्मेवार बनाउँदै आपसमा स्वस्थ प्रतिस्पर्धा हुने शाखा प्रमुख कपाडीको विश्वास छ । कक्षा ८ को नजिताका आधारमा नेपाली विषयमा जनता माविका शिक्षिका इन्द्रा उपाध्याय, अङ्ग्रेजी विषयतर्फ अरुणोदय माविका मोहन भण्डारी, अरुणोदय माविका वसन्ती जोशी गणित विषयमा सम्मानित भएका छन् । विज्ञान विषयमा आदर्श माविका अर्जुन चौधरी, सामाजिक विषयमा अरुणोदयका टङ्कराज भाटलाई सम्मान गरिएको छ ।

कक्षा १० मा एसइईको नतिजाको आधारमा नेपाली विषयमा हिमालय राष्ट्रिय माविका टीकाराम जैशी, अङ्ग्रेजी विषय शिक्षक रामबहादुर भुल, गणित विषयकी शिक्षिका रुपा रेग्मी, विज्ञान विषयमा अरुणोदय माविका टेकबहादुर धामी, सामाजिक विषयमा हिमालय राष्ट्रिय माविका प्रधानाध्यापक खगेन्द्रप्रसाद ओझा पुरस्कृत हुनुभएको छ ।

गाउँपालिकाले एसइईमा गाउँपालिकाभित्र उत्कृष्ट अङ्क ल्याउने तीन जना विद्यार्थीलाई क्रमशः रु पाँच हजार ५००, चार हजार र तीन हजार नगदसहित सम्मानपत्रले सम्मान गर्न थालिएको छ । त्यसैअनुसार कक्षा ८ को नतिजामामा समेत त्यहीँ नियम लागू गरिएको छ ।

“सामुदायिक विद्यालयप्रति अभिभावक र विद्यार्थीको विश्वास कायम गर्न, शिक्षक अनि विद्यालय प्रशासनलाई जवाफदेही बनाएर शैक्षिक गुणस्तर कायम गर्न यो कार्यक्रमको सुरु गरिएको हो ।” गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टले भन्नुभयो, “यसले शैक्षिक क्षेत्रको सुधारको आधारस्तम्भ तयार हुने विश्वास गरिएको छ ।”

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।