केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह

काठमाडौँ, १ असारः कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एसोसिएसनले केन्द्रीय कानुन पुस्तकालय न्यायका क्षेत्रमा खोज, अनुसन्धान गर्ने स्थान भएकाले खारेज वा गाभ्ने काम नगर्न सरोकार भएका निकायलाई आग्रह गरेको छ ।

बारका महासचिव केदारप्रसाद कोइरालाले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा २०५० सालमा स्थापना भएको उक्त ऐतिहासिक पुस्तकालयले न्यायका क्षेत्रमा खोज, अनुसन्धान गर्ने तथा अन्य सेवाग्राहीलाई सेवा प्रदान गर्दै आइरहेको हुँदा खारेज वा गाभ्ने काम नगर्न सरोकार भएका निकायलाई आग्रह गर्नुभएको हो ।

विज्ञप्तिमा भनिएको छ, “न्यायाधीश, कानुन व्यवसायी, कर्मचारी, कानुनका विद्यार्थीलगायत कानुन र न्यायका क्षेत्रमा खोज, अनुसन्धान गर्ने व्यक्तिहरूका लागि अतिआवश्यक केन्द्रीय कानुन पुस्तकालय विना कारण खारेज वा गाभ्नेजस्ता कार्यले पठन संस्कृतिमाथि प्रहार गर्ने भएकाले उक्त पुस्तकालय खारेज वा गाभ्ने कार्य नगर्न आग्रह गर्दछौँ ।”

सर्वोच्च अदालतका न्यायाधीशको अध्यक्षतामा रहेको कानुन क्षेत्रको बौद्धिक ज्ञान उत्पादनको थलोका रूपमा रहेको यो ऐतिहासिक पुस्तकालय खारेज वा गाभ्नुभन्दा यसलाई थप आधुनिकीकरण गर्दै विशिष्टीकृत रूपमा सञ्चालन गर्न आवश्यक भएको बारको भनाइ छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।