चितवन, १ असारः यहाँको कालिका नगरपालिकाले मौरीपालक किसानलाई मौरीको आहारा परागकण (पोलन) बितरण गरेको छ । कालिका ६ मा रहेका २७ जना मौरीपालक किसानलाई मौरीको पोलन बितरण गरिएको हो ।
वर्षातको समयमा मौरीले पोलन वनाउन नसक्ने भएकाले किसानलाई पोलन बितरण गरिएको हो । नेपाल मौरीपालक महासंघका पूर्व अध्यक्ष शिब शर्माका अनुसार परागकणले मौरीको घार वलियो बनाउन सहयोग गर्ने छ भने यसलाई मौरीको बच्चाको मूख्य आहाराको रुपमा लिइन्छ । उहाँका अनुसार परागकण प्रयाप्त भएको समयमा रानीले अण्डा धेरै पार्ने र वर्षात पछि उत्पादन बृद्धि हुने गर्दछ ।
पालिकाका उपप्रमुख बिमला तामाङ्ले नगरबासी मौरी उत्पादक किसानलाई परागकण बितरण गर्नुभएको हो । परागकण बितरण गर्दै उहाँले कालिका नगरपालिकाले बिगत देखिनै किसानको हितमा काम गर्दै आएको बताउनुभयो ।
मुख्यगरी जीविको पार्जन संग सम्बन्धित कामहरुलाई निरन्तरता दिँदै आएको उहाँको भनाई छ । कालिका –६ का अध्यक्ष टिकाराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मौरीको घारका आधारमा परागकण बितरण गरिएको हो । एक जना किसानले मौरीको घारका आधारमा बढीमा २५ किलो सम्म परागकण पाएको उहाँले बताउनुभयो ।
जिल्लामा हाल ६ सय किसानले १९ हजार घार मौरी पाल्दै आएका छन् । ती मध्ये कालिका नगरपालिकामा १०० जना मौरीपालक किसान रहेको पूर्ब अध्यक्ष शर्माले जानकारी दिनुभयो । अहिले जिल्लामा प्रतिघार २६ किलो मह बार्षिक रुपमा उत्पादन हुँदै आएको छ ।

