अग्निपीडित परिवारलाई रु दुई लाख सहयोग

दाङ, २९ जेठः तुलसीपुर उपमहानगरपालिकाले आगलागीको घटनामा परी ज्यान गुमाएका दुई जनाका परिवारलाई विपद् राहत कोषबाट जनही रु दुई लाख राहत उपलब्ध गराउने निर्णय भएको छ ।

उपमहानगरपालिकाकोे ४८औँ कार्यपालिका बैठकले अग्निपीडित परिवारलाई उक्त रकम प्रदान गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेले जानकारी दिनुभयो ।

गत पुस २८ गते आगलागीमा परी ज्यान गुमाएकी तुलसीपुर–१ भमके निवासी ७६ वर्षीया रिमा देवकोटाको परिवार र गत चैत १२ गते आगलागी घटनामा परी ज्यान गुमाएकी तुलसीपुर–७ मोतीपुर निवासी ७२ वर्षीया गुमीकुमारी पौडेलको परिवारलाई जनही रु दुई लाख राहत उपलब्ध गराउने निर्णय भएको हो ।

नगर प्रमुख टीकाराम खड्काको अध्यक्षतामा बिहीबार बसेको बैठकले सो निर्णय गरेको उपमहानगरपालिकाले जनाएको छ ।

बैठकले केही समयअघि परेको असिनापानीका कारण उपमहानगरपालिका क्षेत्रभित्र तरकारीखेतीमा क्षति बेहोरेका किसानलाई राहत प्रदान गर्ने निर्णय गरेको छ ।

यसैबीच, तुलसीपुर उपमहानगरपालिकामा दमकल (बारुण यन्त्र) नहुँदा समस्या हुने गरेको छ । पालिकामा रहेको दमकल ‘जेनजी’ आन्दोलनका क्रममा क्षति पुगेको थियो ।

बढ्दो गर्मीसँगै उपमहानगरपालिकामा आगलागीका घटना बढिरहेका छन् । केही समयअघि तुलसीपुरका दोघरेस्थित पार्किङ क्षेत्रमा राखिएको बसमा आगलागी हुँदा ठूलो क्षति बेहोर्नु परेको थियो ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।