खेतीको मुख्य याममा ट्रान्सफर्मर चोरीले किसान चिन्तित

सिरहा, २९ जेठः सिरहाको गोलबजार नगरपालिका–१३ दुर्गापुरस्थित सिमरा चौरमा सिँचाइका लागि जडान गरिएको ११ हजार भोल्ट क्षमताको ट्रान्सफर्मर बुधबार राति चोरी भएपछि सयौं किसान प्रभावित भएका छन् । खेतीपातीको मुख्य याममा विद्युत् आपूर्ति अवरुद्ध हुँदा सिँचाइ सेवा ठप्प भएको छ ।

किसान दुर्गेशकुमार सिंहले धान तथा अन्य बाली लगाउने तयारी भइरहेका बेला ट्रान्सफर्मर चोरी हुँदा किसान समस्यामा परेको बतउनुभयो । “ट्रान्सफर्मर चोरी भएपछि अब डिजेल पम्प वा अन्य वैकल्पिक स्रोतको सहारा लिनुपरेको छ, यसबाट खेतीको लागत बढ्नेछ”, उहाँले भन्नुभयो ।

किसान रामपृत यादवले खेती नै परिवारको मुख्य आम्दानीको स्रोत रहेको भन्दै ट्रान्सफर्मर चोरीले ठूलो असर परेको बताउनुभयो । उहाँले सिँचाइ अभावका कारण उत्पादन घट्ने चिन्ता व्यक्त गर्दै तत्काल विद्युत् सेवा पुनःस्थापना गर्न माग गर्नुभयो ।

सिरहामा पछिल्लो समय ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएको देखिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालले ट्रान्सफर्मर चोरीका घटनाबारे जानकारी दिँदै भन्नुभयो, “हालसम्म ट्रान्सफर्मर चोरीसम्बन्धी १५ वटा उजुरी प्राप्त भएका छन् । प्राप्त उजुरीका आधारमा अनुसन्धान अगाडि बढाइएको छ र घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ ।” उहाँका अनुसार नवराजपुर र बरियारपट्टी लगायतका क्षेत्रबाट पनि यस्ता घटनाका उजुरी आएका छन् ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।