सूचना लिन बारम्बार सम्पर्क गर्दा पनि फोन नउठ्ने गुनासो, सेवाग्राहीले प्रभावकारी हेल्पडेस्कको माग गरे
काठमाडौं । यातायात व्यवस्था विभागमा जानकारी लिनका लागि सेवाग्राहीहरूले गर्ने फोन सम्पर्क प्रभावकारी नहुँदा सर्वसाधारण हैरान बनेका छन्। लाइसेन्स, सवारी दर्ता, नवीकरण तथा विभिन्न प्रशासनिक सेवासम्बन्धी जानकारी लिन विभागका नम्बरहरूमा बारम्बार फोन गर्दा पनि फोन नउठ्ने गरेको सेवाग्राहीहरूको गुनासो छ।
विभागमा प्रत्यक्ष उपस्थित नभई फोनमार्फत जानकारी प्राप्त गर्न खोज्ने नागरिकहरूले पटक–पटक सम्पर्क गर्दा पनि प्रतिक्रिया नपाएको बताएका छन्। विशेष गरी उपत्यका बाहिरका सेवाग्राहीहरूलाई सामान्य जानकारीका लागि समेत कार्यालय धाउनुपर्ने अवस्था रहेको उनीहरूको भनाइ छ।
सेवाग्राहीहरूका अनुसार विभागले सार्वजनिक गरेका सम्पर्क नम्बरहरूमा नियमित रूपमा फोननै लाग्दैन, लागे पनि कसैले रिसिभ नगर्ने, व्यस्त देखिने वा लामो समयसम्म घण्टी बजिरहने समस्या देखिएको छ। यसले सेवाप्रवाहप्रति नागरिकको असन्तुष्टि बढाएको छ।
सूचना प्रविधिको युगमा सरकारी निकायहरूले नागरिकलाई सहज सूचना उपलब्ध गराउनुपर्ने अपेक्षा रहे पनि सम्बन्धित निकायको कमजोर सम्पर्क व्यवस्थापनले सेवाग्राहीलाई सास्ती खेप्न बाध्य बनाएको नागरिकहरूको गुनासो छ।
सेवाग्राहीहरूले विभागले हेल्पडेस्कलाई थप प्रभावकारी बनाउने, पर्याप्त जनशक्ति परिचालन गर्ने तथा अनलाइन तथा टेलिफोन सेवाको गुणस्तर सुधार गर्न आवश्यक कदम चाल्नुपर्ने माग गरेका छन्।
“सरकारी सेवा सहज र पहुँचयोग्य बनाउन फोन सेवा प्रभावकारी हुनु आवश्यक छ,” एक सेवाग्राहीले गुनासो गर्दै भने।

