भारतको उत्तर प्रदेशबाट थप १३ नेपालीको उद्धार

काठमाडौं । भारतको उत्तर प्रदेशबाट थप १३ नेपालीको उद्धार गरिएको छ ।

दिल्लीस्थित नेपाली दुताबासका अनुसार उत्तर प्रदेश प्रहरी र किन इण्डिया नामक संस्थासँगको समन्वयमा देहरादूनबाट १३ जना नेपाली नागरिकको उद्धार गरी जिल्ला प्रहरी कार्यालय कैलालीलाई हस्तान्तरण गरिएको छ ।

यसअघि सामाजिक सञ्जालमार्फत आकर्षक रोजगारीको प्रलोभन देखाएर सञ्जालीय ठगीमा पारिएका ४५३ जना नेपाली नागरिकलाई भारतको कुशीनगरबाट उद्धार गरिएको थियो । उत्तर प्रदेश प्रहरी, भारत सरकारका सम्बन्धित निकाय र किन इण्डियासँगको समन्वयमा गरिएको उक्त उद्धारपछि उनीहरूलाई जेठ १६ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई बुझाइएको थियो । राजदूतावासका अनुसार रुपन्देहीमा बुझाइएका केही व्यक्तिले पछि दिएको जानकारीका आधारमा, कुशीनगरमा उद्धार गरिएका केही पीडितलाई पछि देहरादूनतर्फ सारिएको र त्यस समूहमा ठगी धन्दामा संलग्न हुन सक्ने व्यक्तिहरू समेत मिसिएको आशंका गरिएको थियो । सोही सूचनाका आधारमा उत्तराखण्ड प्रहरी, उत्तर प्रदेश प्रहरी, नेपाल प्रहरी, किन इण्डिया तथा अन्य सहयोगी निकायसँगको समन्वयमा देहरादूनमा थप खोजी तथा उद्धार कार्य अघि बढाइएको दुताबासले जानकारी दिएको छ ।

पीडितहरूका अनुसार यस्तो ठगी सञ्जालमा सुरुमा सानो रकम माग गरिन्छ, त्यसपछि क्रमशः ठूलो रकम असुल्ने, धेरै सदस्य बनाउन दबाब दिने र तोकिएको लक्ष्य पूरा गर्न नसके शारीरिक तथा मानसिक यातना दिने गरिएको पाइएको छ । महिलाको हकमा यौन शोषणसमेत हुने र एकपटक फसेपछि सञ्जालबाट बाहिर निस्कन कठिन हुने अवस्था सिर्जना हुने गरेको उनीहरूको भनाइ छ ।

राजदूतावासले आकर्षक रोजगारी, छिटो र अस्वाभाविक आम्दानीको प्रलोभन देखाउने विज्ञापनबाट सावधान रहन आग्रह गर्दै कुनै पनि कामका लागि रकम वा कागजात बुझाउनुअघि त्यसको वास्तविकता र वैधता राम्रोसँग जाँच गर्न सबैलाई दुताबासले अनुरोध गरेको छ ।

About the author

Jayanti Shiwakoti
By Jayanti Shiwakoti
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।