विराटनगरका युवालाई आइटी प्रशिक्षण

विराटनगर, २२ जेठः डिजिटल सुशासन, प्रविधिमैत्री समाज निर्माण र युवाको सीप विकासलाई केन्द्रमा राख्दै विराटनगर महानगरपालिकाले १० दिने ‘आइटी ट्रेनिङ एन्ड प्रोफेसनल डेभलपमेन्ट’ कार्यक्रम सुरु गरेको छ । सूचना तथा सञ्चार प्रविधि शाखाको आयोजनामा तथा जेनेस सोलुसन प्रालिको प्राविधिक सहकार्यमा सञ्चालन भएको तालिममा प्रतिस्पर्धात्मक छनोट प्रक्रियामार्फत ५५ जना युवालाई सहभागी गराइएको छ ।

महानगरका अनुसार तालिमका लागि खुला गरिएको अनलाइन आवेदनमा ५४३ जनाको आवेदन परेको थियो । तीमध्ये उत्कृष्ट ५५ जनालाई छनोट गरी कार्यक्रम सञ्चालन गरिएको हो । तालिममा साइबर सुरक्षा, सञ्चार सीप, परियोजना व्यवस्थापन, क्लाउड कम्प्युटिङ, कृत्रिम बुद्धिमत्ता (एआई) लगायत आधारभूतदेखि मध्यमस्तरसम्मका आधुनिक डिजिटल दक्षता विकाससम्बन्धी विषय समेटिएका छन् ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विश्वव्यापी रूपमा तीव्र गतिमा विस्तार भइरहेको डिजिटल अर्थतन्त्रमा युवालाई सक्षम बनाउनु समयको आवश्यकता भएको बताउनुभयो ।

उहाँले महानगरले उक्त कार्यक्रमलाई प्रारम्भिक ‘पाइलट परियोजना’का रूपमा अघि बढाएको उल्लेख गर्दै यसको प्रभावकारिता र सहभागीबाट प्राप्त प्रतिक्रियाका आधारमा आगामी दिनमा अझ व्यापक रूपमा विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सूचना प्रविधि अब विकल्प होइन, आवश्यकता बनेको छ । युवाहरूलाई सीपयुक्त बनाएर अवसरसँग जोड्नु महानगरको प्राथमिकता हो ।”

शैक्षिक प्रशासन महाशाखाका प्रमुख रामप्रसाद ढुङ्गेलले सूचना प्रविधि क्षेत्रको बढ्दो मागसँगै यस्ता तालिमले युवालाई प्रतिस्पर्धी र रोजगारमुखी बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने धारणा राख्नुभयो । आइटी इन्जिनियर अर्चना कर्णले तालिममार्फत महानगरभित्रका युवा तथा विद्यार्थीलाई व्यवहारिक सूचना प्रविधि सीप, व्यावसायिक दक्षता र आधुनिक प्रविधिसम्बन्धी ज्ञान प्रदान गर्ने लक्ष्य रहेको बताउनुभयो ।

महानगरपालिकाले यस कार्यक्रमलाई स्थानीय तहको डिजिटल रूपान्तरण अभियानसँग जोड्दै भविष्यमा दक्ष जनशक्ति उत्पादन, नवप्रवर्तन प्रवर्द्धन तथा रोजगारी सिर्जनामा समेत योगदान पुग्ने अपेक्षा गरेको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।