तिम्माका किसानलाई आधुनिक मौरीघार बनाउन तालिम

भोजपुर, १९ जेठः जिल्लाको टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका किसानलाई आधुनिक मौरीघार निर्माणसम्बन्धी तालिम सञ्चालन गरिएको छ ।

स्थानीयस्तरमै सीप विकास गरी व्यावसायिक मौरीपालनलाई प्रवर्द्धन गर्ने उद्देश्यले यहाँका २० किसानलाई तालिम दिइएको हो । हालै सम्पन्न तालिममा सहभागीलाई सात दिनसम्म आधुनिक प्रविधिमा आधारित मौरीघार निर्माण गर्ने विधि, मौरी व्यवस्थापन, मौरीका रोग तथा कीरा नियन्त्रण, मह उत्पादन र बजार व्यवस्थापनसम्बन्धी ज्ञान तथा सीप प्रदान गरिएको छ ।

तिम्मा क्षेत्र प्राकृतिक हिसाबले मौरीपालनका लागि उपयुक्त मानिन्छ । यहाँ नजिकै जङ्गल, विभिन्न प्रजातिका फूल, बिरुवा तथा स्वच्छ वातावरण रहेकाले मौरीका लागि आवश्यक चरन क्षेत्र सहज रूपमा उपलब्ध छ । मौरीपालन व्यवसायलाई दिगो रूपमा सञ्चालन गर्न सकिने सम्भावना रहेकाले यसतर्फ किसानलाई प्रोत्साहन गर्न तालिम दिइएको वडाध्यक्ष नरबहादुर राईले बताउनुभयो ।

कृषिमा आधारित आयआर्जनका अवसर बढाउँदै स्थानीयलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ मौरीघार बनाउने तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो । “तिम्मा क्षेत्रमा मौरीपालनको राम्रो सम्भावना छ । हाल यहाँ परम्परागत रूपमा मौरीपालन भइरहेको छ । अब आधुनिक घार निर्माण र व्यवस्थापनसँग जोड्न सके यसबाट राम्रो आम्दानी लिन सकिन्छ भन्ने हाम्रो विश्वास छ । सोहीअनुसार तालिम दिएका हौँ”, वडाध्यक्ष राईले भन्नुभयो ।

स्थानीय तहले आगामी दिनमा मौरीपालनलाई थप प्रवर्द्धन गर्न आवश्यक प्राविधिक सहयोग, सामग्री व्यवस्थापन तथा बजार पहुँचमा सहयोग गर्ने योजना बनाएको पनि उहाँले जानकारी दिनुभयो ।
स्थानीय मौरीपालक कृषक दीपेन्द्र राउतले तालिम लिएपछि अब आफैँ आधुनिक घार निर्माण गर्न सहज भएको बताउनुभयो । तालिमका अवसरमा मौरीपालनसँगै आधुनिक घार निर्माणसम्बन्धी व्यवहारिक सीप हासिल गरेको उहाँले जानकारी दिनुभयो ।

व्यावसायिक मौरीपालनमार्फत मह उत्पादनसँगै मौरीबाट परागसेचनसमेत हुने भएकाले कृषि उत्पादनमा सकारात्मक प्रभाव पार्ने कृषि विज्ञहरूको भनाइ छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।