विषादीरहित तरकारी उत्पादन गर्दै किसान

टीकापुर, १९ जेठः कैलालीको टीकापुर र जानकीका किसानको बारीमा फलेको तरकारी खानयोग्य पाइएको छ । विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला एकाइ अत्तरियाले टीकापुर र जानकीमा व्यावसायिक रूपमा खेती गरिरहेका १४ किसानको बारीका तरकारीको नमूना सङ्कलन गरी ‘कार्वामेट’ र ‘अर्गानोफस्फेट’ समूह कीटनाशक विषादीको प्रयोग परीक्षण गर्दा तरकारी खानयोग्य पाइएको हो ।

प्रयोगशालाले किसानका बारी र हाटबजारमा बिक्रीमा राखिएका तरकारीको नमूना सङ्कलन गरेको थियो । त्यसक्रममा काक्रो, हरियो फर्सी, भिण्डी, तितेकरेला, लौका, खुर्सानी, गोलभेडा, तरभुजा, बोडी, घिरौला, बन्दागोभीलगायतका तरकारीको परीक्षण गरेको हो । परीक्षण गर्दा कार्वामेटको रोकावट प्रतिशत चार दशमलव ६७ सम्म र अर्गानोफस्फेट अन्य तरकारीमा रोकावट प्रतिशत नौ दशमलव आठ प्रतिशतसम्म भेटिएको थियो भने बोडीमा ३३ दशमलव ३७ रोकावट प्रतिशत भेटिएको छ ।

विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला एकाइ अत्तरियाका नायब प्राविधिक सहायक राजेन्द्रप्रसाद भट्टले अर्गानोफस्फेटको प्रयोग ३५ प्रतिशतभन्दा कम भए खानयोग्य र त्यसमाथि भए स्वास्थ्यका लागि खान अयोग्य हुने बताउनुभयो । “रोकावट प्रतिशत ३५ भन्दा कम भए उपभोग गर्न योग्य, ३५ देखि ४५ प्रतिशतसम्म भए केही दिन क्वारेन्टाइनमा राख्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “४५ प्रतिशतमाथि देखिएमा सोही ठाउँमा बिर्सजन गर्नुपर्ने व्यवस्था छ ।”

यहाँ मानव स्वास्थ्य र माटो संरक्षणका लागि किसानले विषादीरहित तरकारीखेती गरिरहेका छन् । गुड नेभर्स इन्टरनेशनल नेपालले सेवक नेपाल कैलालीको साझेदारीमा एकीकृत सामुदायिक विकास परियोजनाअन्तर्गत प्राकृतिक खेतीका लागि टीकापुर, जानकी र लम्कीचुहामा किसानलाई सघाइरहेको छ । परियोजनाले स्वच्छ माटो, सुरक्षित बाली र स्वस्थ जीवनका लागि प्राकृतिक खेतीका लागि प्रोत्साहन गरिरहेको जनाइएको छ ।

परियोजनाका ‘कलस्टर’ संयोजक अरुण चौधरीका अनुसार तीन वर्षदेखि सञ्चालित परियोजनामा यसअघि तीन सय जना किसान आबद्ध रहेकामा यस वर्ष थप तीन सय गरी छ सय किसानले ५० बिघा जमिनमा प्राकृतिक खेती गरिरहेका छन् । परियोजनामाफर्त किसानलाई आवश्यक बीउबिजन, कृषि सामग्री र तालिम दिने गरिएको छ ।

यसले उपभोक्ताको स्वास्थ्य र किसानको आयआर्जनमा सहयोग भइरहेको परियोजनाका कलस्टर संयोजक चौधरीले बताउनुभयो । “यसरी खेती गरिरहेका किसानले एउटै सिजनमा लाखौँ आम्दानी गरिरहेका छन् । छापो राख्ने, खनजोतबिना वा न्यूनतम खनजोत, कम्पोष्ट मल प्रयोग र सूक्ष्म जीवको वृद्धि गर्ने चार सिद्धान्तमा आधारित रहेर काम गर्न प्रोत्साहन गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

किसानलाई जिम्मेवार बनाउन समय समयमा तरकारीमा विषादीको मात्रा परीक्षण गर्ने गरिएको छ । जानकी गाउँपालिकाकी किसान पशुपति चौधरी विगतमा परीक्षण नहुँदा तरकारीमा अन्धाधुन्द विषादी छर्ने गरिएकामा अचेल पिना, गोबर मल र जैविक मलको प्रयोग गरिरहेको बनाउनुभयो । उहाँले दुई कट्ठामा तरकारी गरिरहनुभएको छ ।

“परियोजनाले तालिम तथा आवश्यक सहयोग गरेपछि विषादी प्रयोगबारे सचेत भएकी छु । यसले उपभोक्तामा पनि सकारात्मक सन्देश गएको छ”, चौधरीले भन्नुभयो ।

अर्का किसान रामनारायण चौधरीले आफूले १५ कट्ठा जमिनमा तरकारीखेती गर्दा दैनिक रु दुई हजारसम्मको तरकारी बिक्रीबाट लाभ लिइरहेको बताउनुभयो । उहाँले जग्गा भाडामा लिएर तरकारीखेती गरिरहनुभएको छ । “हाम्रो बारीमा विषादी प्रयोग नगरिएको तरकारी पाइन्छ । आजभोलि गाउँका मानिस पनि अर्गानिक तरकारी पाइन्छ भनेर बारीमै किन्न आउँछन् । यस वर्ष काक्रो मात्रै ४० क्विन्टलभन्दा बिक्री गर्नुभयो । उत्पादनको बजारीकरणका लागि कुनै समस्या छैन”, चौधरीले सुनाउनुभयो ।

अर्का किसान श्यामसुन्दर चौधरीले छ कट्ठा जमिनमा व्यावसायिक तरकारीखेती गरेर लाभ लिइरहेको बताउनुभयो । उहाँले भन्नुभयो,“बाली रोप्नुअघिदेखि नै माटो संरक्षणमा ध्यान दिने गरेका छु । यसबाट हुने उत्पादनले परिवार, आमउपभोक्ता र माटोको स्वास्थ्य सुधारमा पनि योगदान पुगेको छ । विषादी प्रयोग गर्न छोडेपछि धेरै फाइदा हुँदो रहे छ नि !”

उहाँले यस वर्ष रु ५० हजारको टमाटर र रु ४० हजारको काक्रा बिक्री गरेको जानकारी दिनुभयो ।

जानकी गाउँपालिकाका कृषि प्राविधिक चक्रप्रसाद भाट अब उपभोक्ता पनि विषादीरहित तरकारीबारे सचेत हुनुपर्ने बताउनुहुन्छ । विषादीरहित तरकारीमा दाग, किरा लागेको भए पनि स्वास्थ्यका लागि राम्रो हुने उहाँको भनाइ छ ।
कृषि प्राधिधिक भाट भन्नुहुन्छ, “उपभोक्ता आकर्षक र चिल्लो देखिने तरकारी मन पराउँछन्, तर त्यसको स्वास्थ्य लाभबारे ध्यान दिँदैन । अब प्रयोगबारे उपभोक्ता र विषादी न्यूनीकरण र सुरक्षित खाद्य तत्व संरक्षणका लागि किसान सचेत हुनुपर्ने आवश्यकता छ ।”

माटोको उर्वरा शक्ति बढाउन, उत्पादन वृद्धि र जैविक जीवाणु संरक्षण तथा स्वस्थ तरकारी उत्पादनमा जैविक प्राकृतिक खेतीमा लाग्न आफूहरूले किसानलाई सचेत गराउँदै आएको उहाँले बताउनुभयो ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।