काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले संसदमा प्रधानमन्त्री बालेन्द्र शाहले दिएका जवाफप्रति असन्तुष्टि जनाउँदै नेतृत्वको तयारी, निर्णय क्षमता र जिम्मेवारीबोधमाथि गम्भीर प्रश्न उठाएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बस्नेतले विद्युतीय चुलोको प्रयोग बढ्दा ट्रान्सफर्मर र सबस्टेसनले भार धान्न नसक्ने प्रधानमन्त्रीको अभिव्यक्ति, बाँदर नियन्त्रणका विषयमा अझै अध्ययनकै चरणमा रहेको जवाफ तथा सुकुम्बासी व्यवस्थापनबारे ‘३५ वर्षमा नभएको काम ३५ मिनेटमा नखोजौं’ भन्ने प्रतिक्रिया चित्तबुझ्दो नभएको बताएका छन् ।
उनले सहकारी ठगीका पीडितलाई सरकारी कोषबाट राहत दिने निर्णय भइसके पनि फरार रहेका जीबी राईबारे प्रधानमन्त्री मौन रहेको आरोप लगाए । विदेशमा रहेका नेपालीको मतदान अधिकारको विषयमा पनि सरकारले अध्ययनकै कुरा गरेर विषय टारेको उनको भनाइ छ ।
बस्नेतले मानव अधिकार आयोगको प्रतिवेदनसम्बन्धी जवाफलाई गैरजिम्मेवार भन्दै राष्ट्रियता, स्वाधीनता र सार्वभौमिकतासँग जोडिएका विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाली जनताको भावनामा चोट पुर्याएको दाबी गरेका छन् ।
उनले देश सञ्चालनका लागि सामाजिक सञ्जालमा प्रतिक्रिया दिनुभन्दा स्पष्ट दृष्टिकोण, तथ्यमा आधारित निर्णय, जवाफदेहिता र कार्यान्वयन क्षमता आवश्यक हुने उल्लेख गर्दै जनताले अब बहाना नभई समाधान र परिणाम खोजिरहेको बताएका छन् ।

