मधेसको खानेपानी समस्या समाधान गर्न माग

काठमाडौँ, १७ जेठः राष्ट्रियसभाको आजको बैठकमा सांंसदहरूले पछिल्लो समय मधेस प्रदेशमा सुक्खा बढेसँगै खानेपानीको समस्या गहिरिँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । बैठकमा सांसद उर्मिला अर्यालले पछिल्लो समय मधेसमा खानेपानी समस्या बल्झँदै गइरहेको भन्दै उक्त समस्या समयमै सम्बोधन हुनुपर्नेमा जोड दिनुभयो ।

यसैगरी, सांसद गोमादेवी तिमल्सेनाले शुक्रबार अर्थमन्त्री डा स्वर्णिम वाग्लेद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमा उद्योग सञ्चालनका लागि आवश्यक बजेट विनियोजन हुन नसकेको बताउनुभयो ।

सांसद दुर्गा गुरुङले कर्णाली प्रदेशमा विद्युत समस्या भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद नरबहादुर विष्टले सांसदहरूले राखेका मागको सरकारले जवाफ दिनुपर्ने बताउनुभयो ।

सांसद भुवनबहादुर सुनुवारले जातीय छुवाछूतको अपराध हट्न नसकेको स्मरण गराउँदै माइतीघरमा आन्दोलनरत दीपा नेपालीलगायत युवाहरूको माग पूरा गर्नुपर्नेमा जोड दिनुभयो । “दलितलाई उपत्यकामा कोठा भाडामा पाउन समस्या भएपछि दीपालगायत युवाहरू माइतीघरमा ‘कोठा खाली छ ?’ भनेर आन्दोलनमा हुनुहुन्छ । छुवाछूत अन्त्यका लागि न्याय माग गरिरहनुभएको छ, माग सम्बोधन होस्”, उहाँले भन्नुभयो ।

सांसद युवराज शर्माले नागरिकले महँगीको चोट बेहोर्नुपरेको भन्दै महँगी नियन्त्रणका लागि सरकारले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा सांसदहरू नारायणदत्त मिश्र र उदयबहादुर बोहोराले विभिन्न विषयमा धारणा राख्नुभएको थियो ।

राष्ट्रियसभाको बैठक आजै २० मिनेटपछि बस्नेछ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।