आदिवासी जनजातिको हक–अधिकार र पहिचान सुनिश्चित गर्न सांसदहरूको साझा ऐक्यवद्धता

नेताहरुले आदिवासी जनजातिको पहिचान, हक र अधिकार सुनिश्चित गर्न राज्य गम्भीर हुनुपर्नेमा जोड दिएका छन् । 
उनीहरूले आसन्न संविधान संशोधनमा जनजातिका मुद्दाहरूलाई प्राथमिकताका साथ समेट्नुपर्ने, परम्परागत ज्ञानलाई आधुनिक अर्थतन्त्रसँग जोड्नुपर्ने र राज्यका हरेक तहमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गरेका छन् । दलगत स्वार्थभन्दा माथि उठेर जनजातिका साझा सवालमा एकतावद्ध हुनुपर्नेमा नेताहरूको साझा धारणा रहेको छ । यससँगै अन्तर्राष्ट्रिय सन्धि–सम्झौताहरूको कार्यान्वयन र पहिचानको आन्दोलनलाई सार्थक निष्कर्षमा पु¥याउनुपर्ने आवश्यकता औंल्याइएको छ । 


नेपाली काँग्रेसका सचेतक निस्कल राईले आदिवासी जनजातिको पहिचान, हक र अधिकार सुनिश्चित गर्न राज्य गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । सचेतक राईले राजनीतिक आस्था परिवर्तन हुनसक्ने भएपनि जातीय पहिचान र अस्तित्व अपरिवर्तनीय हुने बताउनु भयो । सचेतक राईले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानजस्ता निकायहरूलाई सक्रिय बनाउँदै सरकारले यस क्षेत्रका समस्या तत्काल समाधान गर्नुपर्ने माग गर्नुभयो । राजनीतिक दलभन्दा बाहिरका व्यक्ति नियुक्ति गर्ने विषयमा ल्याइएको अध्यादेश र अराम पत्रको बुँदा नम्बर १८ का सम्बन्धमा उहाँले सत्तापक्षको ध्यानाकर्षण गराउनु भयो । उहाँले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) १६९ र अन्य अन्तर्राष्ट्रिय सन्धि–सम्झौताहरूको कार्यान्वयनमा राज्य चुकिरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । आदिवासी जनजातिको परम्परागत ज्ञान र सीपलाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने धारणा राख्दै उहाँले ‘ओरेन्ज इकोनोमी’ र ‘ग्रीन इकोनोमी’को अवधारणा अघि सार्नुभयो । संविधान संशोधनको सन्दर्भमा बोल्दै सचेतक राईले आदिवासी जनजातिको अधिकार र राज्य सञ्चालनमा उनीहरूको प्रमुख भूमिका सुनिश्चित गर्न सबै दलका सांसदहरूले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताउनु भयो । राज्यको मूल प्रवाहमा आउन नसकेका वर्ग, महिला, दलित र आदिवासी जनजातिको सम्मानजनक उपस्थिति नभएसम्म लोकतान्त्रिक व्यवस्था सुदृढ हुन नसक्ने उहाँको तर्क छ । 


उहाँले भन्नुभयो, ‘म भोलि राजनीतिक दल फेर्न सक्छु होला, तर म राई कुलमा जन्मेको व्यक्ति अर्को समुदायको बन्न सक्दिनँ । त्यसैले हाम्रो पहिचान, भाषा, लिपि र संस्कृति नै हाम्रो प्राथमिक अस्तित्व हो। राजनीति त्यसपछिको विषय मात्र हो । आदिवासीहरूले परापूर्वकालदेखि नै जल, जमिन र जङ्गलको संरक्षण गर्दै ग्रीन इकोनोमीको अभ्यास गरिरहेका छन् । अब हाम्रो संस्कृति र पहिचानलाई ’ओरेन्ज इकोनोमी’मार्फत विश्वव्यापी बनाउँदै युवाहरूलाई यसमा उत्प्रेरित गर्नुपर्छ ।’


नेकपा एमालेका सांसद क्षितिज थेबेले नेपाल आदिवासी जनजाति महासंघले अघि सारेको १८ बुँदे अडान पत्रप्रति ऐक्यवद्धता जनाउँदै ती मागहरूलाई सम्बोधन गर्न आफ्नो तर्फबाट र पार्टीको तर्फबाट आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नभयो । सांसद थेबेले महासंघका मागहरूलाई गम्भीरतापूर्वक अध्ययन गरेको र कतिपय विषयहरू ऐतिहासिक रूपमै महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । संविधान संशोधनको प्रसङ्गमा बोल्दै उहाँले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि संशोधन हुनुपर्ने र त्यसमा जनजातिका आवाजहरू समेटिनुपर्नेमा जोड दिनुभयो । आदिवासी जनजाति उत्थान प्रतिष्ठानको सञ्चालक परिषद्को विषयमा उब्जिएका प्रश्नहरूप्रति लक्षित गर्दै उहाँले सरकारको निर्णयले जनजातिका अधिकार र आवाजलाई कुण्ठित पार्न नहुने बताउनु भयो । यो विषयमा आफूले सरकारको ध्यानाकर्षण गराउने र त्रुटीहरू सच्याउन पहल गर्ने उहाँको भनाइ छ । जनजाति समुदायको आर्थिक समृद्धिका लागि परम्परागत उत्पादनलाई आधुनिक उद्योगसँग जोड्नुपर्ने आवश्यकता उहाँले औंल्याउनु भयो । शिक्षाको क्षेत्रमा आदिवासी जनजाति विद्यार्थीको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उहाँले माध्यमिक तहसम्म उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू उच्च शिक्षामा पुग्दा पछि पर्नुको कारण खोजिनुपर्ने बताउनु भयो । शैक्षिक गुणस्तर सुधार र उचित वातावरण निर्माणमा महासंघले विशेष ध्यान दिनुपर्ने उहाँको सुझाव छ । 


उहाँले भन्नुभयो, ‘नेकपा एमालेको सचिवालय बैठकले संविधान संशोधनका लागि कार्यदल गठन गरिसकेको छ, जसमा महासंघका पूर्वअध्यक्ष पासाङ शेर्पालाई पनि सदस्य राखिएको छ । यसले महासंघको आवाजलाई पार्टी र सरकारसम्म पु¥याउन थप सहज हुनेछ । म व्यक्तिगत रूपमा पनि यी मागहरूका सम्बन्धमा पार्टीमा छलफल चलाउनेछु । आदिवासीहरू आत्मनिर्भरताका पर्याय हुन् । हाम्रा मौलिक खाद्यान्न, पोसाक र पेय पदार्थको उत्पादनलाई वैज्ञानिक ढङ्गले औद्योगिकरण गरी अर्थतन्त्रलाई मजबुत बनाउनुपर्छ ।’


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद कुसुम महर्जनले राज्यका हरेक तहमा आदिवासी जनजाति र महिलाको न्यायोचित प्रतिनिधित्वका लागि क्षमता अभिवृद्धि र नीतिगत सुधार आवश्यक रहेको बताउनु भयो । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत आदिवासी जनजातिको प्रतिनिधित्व गर्दै संसद्मा पुग्नुभएकी सांसद महर्जनले देशको भूगोल र संस्कृति जोगाउन यस समुदायको अतुलनीय योगदान रहेको उल्लेख गर्नुभयो । उहाँले हिमाल, पहाड र तराईमा छरिएर रहेका राई, लिम्बू, शेर्पा र उपत्यकाका नेवारलगायतका समुदायले नेपालको मौलिक पहिचान र जैविक विविधताको जगेर्ना गरिरहेको बताउनु भयो । सांसद महर्जनले आदिवासी जनजाति र थारु समुदायको कुल जनसंख्या ३६ प्रतिशत रहे पनि राज्यका माथिल्लो ओहोदा र सरकारी निकायहरूमा उनीहरूको उपस्थिति १६ देखि १७ प्रतिशतमा मात्र सीमित रहेकोमा चिन्ता व्यक्त गर्नुभयो । विशेषगरी माध्यमिक तह (कक्षा ८, ९ र १०) पछि आदिवासी जनजाति विद्यार्थीको पढाइ छाड्ने दर उच्च रहेको औंल्याउँदै उहाँले यसको ठोस कारण पहिचान गरी समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

राजनीति र सामाजिक क्षेत्रमा महिलाहरूको संघर्षका बारेमा बोल्दै सांसद महर्जनले घरको जिम्मेवारी सम्हालेर सामाजिक उत्तरदायित्व वहन गर्नु चुनौतीपूर्ण रहेको बताउनु भयो । अब हुने संविधान संशोधनमा महिला र पुरुषको बराबर (५० प्रतिशत) अधिकार सुनिश्चित गरिनुपर्ने उहाँको माग छ । यस्तो व्यवस्थाले सबै जातजातिका महिलाहरूको अधिकार रक्षा हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । पार्टीले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीका उम्मेदवारहरूलाई समान अवसर दिएको र अल्पसङ्ख्यकका मुद्दाहरूलाई समेत राष्ट्रिय मञ्चमा स्थान दिएको उहाँले उल्लेख गर्नुभयो । सांसद महर्जनले आदिवासी जनजातिका अधिकार र हितका सवालमा आफ्नो पार्टी सधैँ अडिग रहने र जनताका समस्यालाई सामूहिक रूपमा सम्बोधन गर्ने प्रतिवद्धता समेत जनाउनु भयो ।


उहाँले भन्नुभयो, ‘हामी कहाँनेर चुकिरहेका छौँ, त्यो हेर्न जरुरी छ । सरकारी पहुँच पुगेन भन्दै गर्दा हाम्रा कमीकमजोरी सच्याएर क्षमता र दक्षता अभिवृद्धिमा लाग्नुपर्छ । हामी कुनै एक जाति विशेषको मात्र नभई नेपालको चार किल्लाभित्र अटाएका सम्पूर्ण नेपालीको प्रतिनिधित्व गर्छौँ ।’ 

श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले संविधान संशोधनको प्रक्रियामा आदिवासी जनजाति, दलित, मधेसी र सीमान्तकृत समुदायको अधिकार कटौती गरिए सशक्त सडक आन्दोलन गर्ने चेतावनी दिनुभयो । प्रमुख सचेतक राईले पहिचानको आन्दोलनलाई जातिवादी वा धार्मिक अतिवादीको संज्ञा दिएर राज्यले भ्रम फैलाउन खोजेको आरोप लगाउनु भयो । पहिचानवादी हुनु भनेको कुनै निश्चित जातिको मात्र वकालत गर्नु नभई देशको इतिहास, संस्कार, संस्कृति र पशुपति तथा लुम्बिनी जस्ता राष्ट्रिय सम्पदाको रक्षा गर्नु रहेको उहाँले प्रष्ट पार्नुभयो ।

संविधान संशोधनको सन्दर्भमा बोल्दै राईले वर्तमान सरकारले गठन गरेको सुझाव समिति समावेशी नभएकोमा आपत्ति जनाउनु भयो । उहाँले संविधान संशोधन प्रक्रियामा जातीय, लैङ्गिक र भौगोलिक आधारमा पूर्ण प्रतिनिधित्व हुनुपर्ने माग गर्नुभयो । राईले संविधान संशोधन गर्दा महिलाको प्रतिनिधित्व कम्तीमा ५० प्रतिशत सुनिश्चित गरिनुपर्ने र संशोधन मस्यौदा समितिमा समावेशिताका लागि आफूले आदिवासी अधिकारकर्मीहरूको सूची समेत बुझाइसकेको जानकारी दिनुभयो । आदिवासी जनजाति र उत्पीडित वर्गलाई आफ्नो हकका निम्ति सचेत रहन र ऐक्यवद्ध हुन आह्वान समेत गर्नुभयो । 


उहाँले भन्नुभयो, ‘काठमाडौंमा बसेर राज्यको उच्च तहमा काम गरेका सीमित व्यक्तिको सल्लाहले मात्र दुर्गमका गरिब, किसान र उत्पीडित समुदायको पीडा सम्बोधन हुन सक्दैन । हाम्रा लागि सांसद वा मन्त्री पदभन्दा पहिचान र अधिकार ठूलो कुरा हो । संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्र विरुद्ध वा प्राप्त अधिकारमाथि थोरै मात्र तलमाथि गरियो भने सबै उत्पीडित समुदाय सडकमा आउनुको विकल्प छैन ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले आदिवासी जनजातिहरूको उत्थानका लागि राजनीतिक स्वार्थभन्दा माथि उठेर एकतावद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

सांसद लामाले संघसंस्थाहरूमा हुने दलीय भागवण्डाले सम्बन्धित समुदायको वास्तविक विकासमा बाधा पु¥याएको बताउनु भयो । सांसद लामाले जुनसुकै राजनीतिक आस्था राखे पनि जनजातिको साझा मुद्दामा सबैले पार्टीगत घेराभन्दा बाहिर निस्किएर सहकार्य गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले सांस्कृतिक संरक्षण, समान अवसर, राष्ट्रिय एकता र परम्परागत पहिचानको सम्मान नै मुख्य प्राथमिकता रहेको बताउनु भयो । आदिवासी जनजाति समुदायका बालबालिकाहरूको शिक्षा र भविष्यप्रति चिन्ता व्यक्त गर्दै सांसद लामाले विद्यालय तहपछि उनीहरूको शिक्षामा देखिने अन्योललाई चिर्नुपर्ने बताउनु भयो । उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन विशेष तालिम र संस्कारको आवश्यकता रहेको उहाँको तर्क छ । आफ्नो व्यक्तिगत संघर्षको स्मरण गर्दै सांसद लामाले आदिवासी जनजातिका छोरीहरूलाई नीति निर्माणको तहसम्म पुग्न अनेकौं अवरोधहरू सामना गर्नुपर्ने बताउनु भयो । यस्ता चुनौतीहरू चिर्नका लागि समुदायभित्रै एकले अर्कालाई सहयोग गर्ने र प्रोत्साहन गर्ने संस्कृति विकास गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।


उहाँले भन्नुभयो, ‘हामी बाहिरबाट हेर्दा एक देखिए पनि आन्तरिक रूपमा विभाजित छौं । विशेषगरी महाधिवेशनहरूमा राजनीतिक दलका आधारमा हुने भागवण्डाले गर्दा संस्थाको मूल मर्म ओझेलमा परेको छ। जबसम्म संस्थामा दलीय स्वार्थ हाबी हुन्छ, तबसम्म कुनै पनि जातजातिको वास्तविक उत्थान सम्भव छैन । हामीले पार्टीको सहयोग लिनुपर्छ र हाम्रा निष्कर्षहरूलाई पार्टीको नीति निर्माणमा पु¥याउनुपर्छ, तर सक्षम व्यक्तिलाई दलीय आधारमा पाखा लगाउनु संस्थाको हितमा हुँदैन । हाम्रो भाषा, धर्म, संस्कार र परम्पराको संरक्षण हुनुपर्छ, तर देशलाई जातीय आधारमा विभाजन गर्नु हुँदैन।  राज्यका सबै निकायमा सबै समुदायको समान पहुँच हुनुपर्छ, तर जात र धर्मका नाममा राष्ट्रियता कमजोर बनाइनु हुँदैन । पहाडी भेगमा बसोबास गर्ने आदिवासीहरूको त्यहाँका वन, जङ्गल र खानीजस्ता प्राकृतिक स्रोतहरूमा अग्राधिकार हुनुपर्छ। यसका लागि हामी सबै एक भएर लाग्नुपर्छ ।


नेपाली कम्युनिस्ट पार्टीका नेता पर्शुराम तामाङले आदिवासी जनजाति आन्दोलन र यसका एजेण्डाहरूलाई प्रभावकारी बनाउन साझा मुद्दामा सबै शक्ति एक हुनुपर्नेमा जोड दिनुभयो ।  नेता तामाङले जातीय संगठनहरूमा राजनीतिक दलको बढ्दो हस्तक्षेपका कारण आन्दोलन कमजोर भएको टिप्पणी गर्नुभयो । नेता तामाङले प्रधानमन्त्रीद्वारा बोलाइएको समानुपातिक सांसदहरूको बैठक र सरकारद्वारा गठित संविधान संशोधन कार्यदलमा आफूले आदिवासी जनजातिका मुद्दाहरूलाई लिखित रूपमै प्रश्तुत गरिसकेको जानकारी दिनुभयो । उहाँले हिमाली बौद्ध र आदिवासी जनजाति समुदायसँग क्षमायाचना गर्नुपर्ने माग आफूले उठाउँदै आएको बताउनु भयो । पहिलेको तुलनामा अहिले आन्दोलन गर्ने शैली सहज भएको उल्लेख गर्दै उहाँले प्रविधिको प्रयोगमार्फत जनमत सिर्जना गर्न आग्रह गर्नुभयो । उहाँले सदनमा आफूहरूले आवाज उठाउँदा बाहिरबाट समुदायको सक्रिय समर्थन र दबाब आवश्यक रहने उल्लेख गर्नुभयो । नेता तामाङले जातीय संगठनहरूमा राजनीतिक दलहरूले उम्मेदवार तोक्ने र कब्जा गर्ने प्रवृत्तिको आलोचना गर्नुभयो । उहाँले जातीय संगठनमा लाग्नेहरूले पार्टीको पदबाट राजीनामा दिएर लाग्नुपर्ने र संगठनप्रतिको लोयल्टी स्पष्ट हुनुपर्ने धारणा राख्नुभयो । 


उहाँले भन्नुभयो, ‘हाम्रो पालामा कालो ब्यानर बोकेर टुँडिखेल घेर्नुपथ्र्यो, अहिले सामाजिक सञ्जालमा लाइक र समर्थन जनाएर पनि आन्दोलनलाई बल पु¥याउन सकिन्छ । पहिले पार्टीको हस्तक्षेप हुँदैनथ्यो, क्षमताका आधारमा नेतृत्व चयन हुन्थ्यो। अहिले पार्टीको निर्देशनमा नेतृत्व तोकिँदा आन्दोलनको मर्म मरेको छ ।’


आदिवासी जनजातिका मुद्दालाई राष्ट्रियकरण गर्ने र संविधानसभासम्म पु¥याउने श्रेय तत्कालीन नेकपा (माओवादी) ले नेतृत्व गरेको जनयुद्धलाई जाने भए तापनि संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशिता जस्ता उपलब्धि आदिवासी जनजाति आन्दोलनकै जगमा प्राप्त भएको उहाँको तर्क छ । अन्तर्राष्ट्रिय क्षेत्रमा आदिवासी अधिकारका सन्दर्भमा संयुक्त राष्ट्रसंघको घोषणापत्र र आईएलओ १६९ जस्ता ठूला उपलब्धि हासिल भएपनि नेपालको धरातलमा त्यसको कार्यान्वयन कमजोर रहेको उहाँले बताउनु भयो । आदिवासी जनजातिको अधिकार स्थापित गर्न बनाइएको राष्ट्रिय कार्ययोजनालाई कार्यपत्रहरूमा समावेश गर्न उहाँले सुझाव दिनुभयो । स्वायत्तताको मुद्दामा जनजाति संगठनहरू नरम हुन नहुने बताउँदै उहाँले आफ्नो पार्टी र व्यक्तिगत तर्फबाट यी मागहरूमा पूर्ण ऐक्यवद्धता रहेको स्पष्ट पार्नुभयो । 

About the author

Jayanti Shiwakoti
By Jayanti Shiwakoti
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।