माझी महिलालाई आत्मनिर्भर बनाउन गलैँचा बुनाइ तालिम

चौतारा, ११ जेठः सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१३ स्थित रातोमाटे माझी बस्तीका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले ४५ दिने गलैँचा बुनाइ तालिम सुरु गरिएको छ ।

दलित सशक्तीकरण समाज चौतारा साँगाचोकगढी–१३ को आयोजनामा ‘उद्यम गरौँ, आत्मनिर्भर बनौँ’ भन्ने नारासहित सञ्चालन गरिएको तालिम असार १४ गतेसम्म सञ्चालन हुने नगरपालिकाका उद्यम शाखा प्रमुख अर्जुन गहतराजले जानकारी दिनुभयो । विपन्न तथा पिछडिएको समुदायका महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने उद्देश्यले तालिमलाई नगरपालिकाको महिला विकास शाखाले आर्थिक सहयोग गरेको छ ।

नगरपालिकाको उपप्रमुख सीता थापाले सीपमूलक तालिमले माझी समुदायका महिलाको आर्थिक अवस्था सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । नगरपालिकाका शाखा अधिकृत पेशलकुमार पोखरेलले आर्थिक रूपमा कमजोर र अवसरबाट टाढा रहेका समुदायलाई प्राथमिकतामा राखेर रातोमाटे माझी बस्ती छनोट गरिएको बताउनुभयो । उहाँले तालिमसँगै उत्पादन र आम्दानी जोड्ने लक्ष्य राखिएको राखिएको समेत बताउनुभयो ।

तालिममा सहभागी महिलाले सीप सिकेर घरमै बसेर आम्दानी गर्ने अवसर मिल्ने अपेक्षा गरेका छन् । बस्तीमा रोजगारी तथा आयआर्जनका अवसर न्यून भएकाले यस्ता कार्यक्रम प्रभावकारी हुने सीता माझीको विश्वास छ ।

स्थानीय आइते माझीका अनुसार नगरपालिका क्षेत्रमा परे पनि रातोमाटे माझी बस्ती अझै आधारभूत सेवा सुविधाबाट टाढा छ । तेह्र घरधुरी रहेको बस्तीमा हालसम्म एसइई उत्तीर्ण गर्ने विद्यार्थीसमेत नभएको उहाँको भनाइ छ । कक्षा पाँचभन्दा माथिको अध्ययनका लागि विद्यार्थीले तीन घण्टा पैदल हिँडेर इन्द्रावतीको बडहरे पुग्नुपर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ ।

स्वास्थ्य सेवाको पहुँच पनि कमजोर रहेको बस्तीवासीको गुनासो छ । बालबालिकालाई नियमित खोप लगाउनसमेत तीन घण्टा पैदल हिँडेर कोडडाँडा पुग्नुपर्ने अवस्था अझै कायम रहेको उनीहरूले बताएका छन् ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।