फाटेको जुत्ताको चर्चापछि क्रिकेटर नन्दन यादवले के भने ?

फ

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी नन्दन यादवले आफ्नो जुत्ताबारे सामाजिक सञ्जालमा फैलिएको चर्चाप्रति आपत्ति जनाएका छन् । 

उनले जुत्ता च्यातिएको भन्दै सार्वजनिक गरिएको तस्बिरको वास्तविकता फरक रहेको बताउँदै अनावश्यक विवाद नगर्न आग्रह गरेका हुन् ।

नन्दनको जुत्ता बारे सामाजिक सञ्जालमा नेपाली खेलाडी पैसा नभएर फाटेको जुत्ता लगाएर खेलिरहेको आशयका टिका टिप्पणी भएपछि यादवले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै आफू क्रिकेट खेल्न आवश्यक सामग्री किन्न आर्थिक रूपमा सक्षम रहेको बताएका छन् । उनले भनेका छन्- ‘भगवान्को कृपाले आफ्नै क्रिकेट सामग्री किन्न सक्ने गरी आम्दानी गर्छु । तस्बिरमा देखाइएको जुत्ता भनिएजस्तो अवस्थामा छैन । त्यसमा देखिएको क्षतिलाई बढाइचढाइ गरिएको हो ।’

उनका अनुसार जुत्तामा देखिएको सानो प्वाल आफूले खेल्दा सहज होस् भनेर जानाजानी बनाएको बताएका छन् । वास्तविकता नबुझी भ्रामक सूचना फैलाउने र अनावश्यक विवाद सिर्जना गर्ने काम नगर्न उनले सञ्चारमाध्यम तथा अन्य व्यक्तिलाई आग्रह गरेका छन् । 

यादवले आफू हिमालयन विलो, माया ग्रुप, स्टडी एक्सप्रेस र जर्सी पसल नेपालजस्ता ब्रान्डसँग आबद्ध रहेको पनि उल्लेख गर्दै क्रिकेट सामग्री आवश्यक पर्दा यी ब्रान्डको सहयोग पाउने र आफूले पनि सामग्री किन्न सक्ने बताएका छन् ।

उनले भनेका छन्- ‘म सबैको चासो र समर्थनको सम्मान गर्छु । तर निष्कर्षमा पुग्नुअघि वास्तविकता बुझिदिन आग्रह गर्छु ।’ 

अनावश्यक विवादभन्दा क्रिकेट र खेलमा केन्द्रित हुन पनि उनले सबैलाई अनुरोध गरेका छन् ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।