साइबर ठगीमा परे तत्काल १२४७ मा फोन गर्न राष्ट्र बैंकको आग्रह

स

काठमाडौं । नेपाल राष्ट्र बैंकले साइबर तथा डिजिटल वित्तीय ठगीमा परेका नागरिकलाई तत्काल १२४७ नम्बरमा सम्पर्क गरी उजुरी गर्न आग्रह गरेको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्रको हटलाइन नम्बर सार्वजनिक गर्दै यस्तो आग्रह गरेको हो ।

साइबर तथा डिजिटल वित्तीय ठगीसम्बन्धी गुनासो र उजुरीको सम्बोधन गर्न प्रहरी प्रधान कार्यालय, साइबर ब्युरो तथा विभिन्न सरोकारवाला निकायको सहभागितामा एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र स्थापना गरिएको राष्ट्र बैंकले जनाएको छ। उक्त केन्द्रको १२४७ नम्बरमा सम्पर्क गरी साइबर ठगीसम्बन्धी घटनाको उजुरी गर्न सकिनेछ ।

राष्ट्र बैंकका अनुसार अनलाइन ठगी, फिसिङ, नक्कली लिङ्क, अनधिकृत कारोबार वा डिजिटल भुक्तानीसम्बन्धी ठगीमा परे तत्काल १२४७ मा सम्पर्क गरी जानकारी गराउनुपर्छ। साथै, उक्त नम्बरबाट प्राप्त जानकारीअनुसार आवश्यक प्रक्रिया अपनाउन पनि राष्ट्र बैंकले अनुरोध गरेको छ ।

ठगीमा परेको अवस्थामा आफ्नो बैंक तथा वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकलाई तत्काल जानकारी गराई बैंक खाता तथा डिजिटल वालेट सुरक्षित राख्न आवश्यक पहल गर्न पनि राष्ट्र बैंकले आग्रह गरेको छ । राष्ट्र बैंकले साइबर तथा डिजिटल वित्तीय ठगीविरुद्ध सचेत रहन र ठगीमा परे ढिलाइ नगरी १२४७ मा सम्पर्क गर्न सबैलाई अनुरोध गरेको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।