काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले नेपाल र भारतबीच हवाई सम्पर्क तथा पर्यटन सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।
नयाँदिल्लीमा आयोजित ‘नेपाल कलिङ’ पर्यटन प्रवर्द्धन कार्यक्रममा बोल्दै उनले नेपाललाई भारतीय पर्यटकका लागि सहज, सुरक्षित र आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न दुवै देशबीच सहकार्य आवश्यक रहेको बताए ।
कार्यक्रमका अवसरमा मन्त्री पौडेलले भारतका केन्द्रीय नागरिक उड्डयनमन्त्री राममोहन नायडुसँग भेट गरी हवाई उड्डयन क्षेत्रको विकास र द्विपक्षीय सहकार्य विस्तारबारे छलफल गरेका थिए ।
उनले नेपालका धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा साहसिक पर्यटनका सम्भावना प्रस्तुत गर्दै हवाई र स्थलमार्गको सम्पर्क विस्तार तथा सहज आवागमनमा जोड दिएका थिए । कार्यक्रममा भारतका पर्यटनमन्त्री गजेन्द्र सिंह शेखावत, उत्तराखण्डका पर्यटनमन्त्री सतपाल महाराजलगायत दुवै देशका सरकारी अधिकारी र पर्यटन व्यवसायी सहभागी थिए ।

