काठमाडौं । कृत्रिम बुद्धिमत्ता कम्पनी एन्थ्रोपिकको सेयर बजारमा प्रवेशअघि कम्पनीको मूल्याङ्कन १५ खर्ब अमेरिकी डलरसम्म पुग्ने अनुमान गरिएको छ ।
क्लाउड नामक कृत्रिम बुद्धिमत्ता प्रविधि विकास गरेको एन्थ्रोपिकले नास्डाकमा प्रतिकित्ता ८३ अमेरिकी डलरमा सेयर निष्कासन गर्ने जनाएको छ । यसअघि प्रतिकित्ता ७० देखि ७८ डलरसम्म मूल्य प्रस्ताव गरिएको थियो ।
कम्पनीको सेयरप्रति लगानीकर्ताको आकर्षण उच्च देखिएको छ । प्रारम्भिक लगानीकर्ताका अनुसार सेयर माग उपलब्ध सेयरको तुलनामा १० गुणाभन्दा बढी पुगेको छ । कम्पनीले सेयर निष्कासन र निजी लगानीमार्फत कुल ९४ अर्ब अमेरिकी डलर जुटाउने अपेक्षा गरेको छ ।
अमेरिकामा पूर्ण रूपमा कृत्रिम बुद्धिमत्ता प्रविधिमा केन्द्रित भएर सेयर बजारमा प्रवेश गर्ने एन्थ्रोपिक पहिलो कम्पनी बन्नेछ । यसको सेयर निष्कासनलाई कृत्रिम बुद्धिमत्ता उद्योगको व्यावसायिक सम्भावना र नाफा कमाउने क्षमताको महत्वपूर्ण परीक्षणका रूपमा हेरिएको छ ।
ओपनएआईका पूर्वकर्मचारीहरूले स्थापना गरेको एन्थ्रोपिकले प्रविधिको सुरक्षित विकासलाई प्राथमिकता दिँदै आएको छ । तर, कृत्रिम बुद्धिमत्तामा भइरहेको ठूलो लगानी, महँगो पूर्वाधार र भविष्यमा नाफा कमाउने क्षमताबारे लगानीकर्तामाझ चिन्ता पनि बढिरहेको छ ।

