बंगालको खाडीमा अर्को चक्रवात ‘अकवान’, भारतका तीन राज्यमा उच्च सतर्कता

ब

काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अकवान’ आज साँझसम्म शक्तिशाली आँधीमा परिणत हुन सक्ने भारतीय मौसम विभागले चेतावनी दिएको छ ।

चक्रवात नोभेम्बर १९ को राति आन्ध्र प्रदेशको तटीय क्षेत्रमा ठोक्किने सम्भावना छ। यसक्रममा प्रतिघण्टा १२० देखि १३० किलोमिटरको गतिमा हावा चल्ने र गति बढेर १४५ किलोमिटरसम्म पुग्न सक्ने अनुमान गरिएको छ ।

चक्रवातको प्रभावले आन्ध्र प्रदेश, ओडिशा र तमिलनाडुमा नोभेम्बर २१ सम्म भारी वर्षा हुने सम्भावना छ । तीन साताभित्र आन्ध्र प्रदेशलाई प्रभावित पार्ने यो तेस्रो चक्रवात हो । यसअघि आएका दुई चक्रवातका कारण करिब ७ हजार करोड भारतीय रुपैयाँबराबरको बालीमा क्षति पुगेको थियो ।

यसैबीच, भारतका हिमाली क्षेत्रमा हिमपात र वर्षाका कारण चिसो बढेको छ । उत्तराखण्डको बद्रीनाथमा तापक्रम माइनस ११ डिग्री सेल्सियसमा झरेपछि नदीको पानीसमेत जम्न थालेको छ ।

उत्तर प्रदेश, मध्य प्रदेश, राजस्थान र बिहारसहित आठ राज्यमा मंगलबार बिहान बाक्लो कुहिरो लागेको थियो । चक्रवातको प्रभावले नोभेम्बर २० र २१ मा ती क्षेत्रमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

दिल्लीमा यस मौसमकै अहिलेसम्मको चिसो बिहान रेकर्ड भएको छ । सफदरजंगमा न्यूनतम तापक्रम ११.६ डिग्री सेल्सियस मापन गरिएको छ । चिसोसँगै दिल्लीको वायु प्रदूषण पनि खराब अवस्थामा रहेको छ । मंगलबार बिहान ८ बजे वायु गुणस्तर सूचकाङ्क २३८ पुगेको थियो भने सिरिफोर्ट क्षेत्रमा ३३३ मापन गरिएको थियो ।

बिहारमा आगामी दुई दिनमा न्यूनतम तापक्रम ३ डिग्री सेल्सियससम्म घट्ने र आगामी ७२ घण्टासम्म बिहान अधिकांश क्षेत्रमा हल्कादेखि मध्यम कुहिरो लाग्ने अनुमान गरिएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।