भारतबाट ३५० मेगावाट विद्युत् आयात र ५६ मेगावाट निर्यातको अनुमति

भ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदयामका लागि भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति पाएको छ । साथै, तीन जलविद्युत् आयोजनाबाट उत्पादित ५६ मेगावाट विद्युत् भारतमा बिक्री गर्न पनि अनुमति प्राप्त भएको छ ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपाललाई भारतीय ऊर्जा विनिमय बजारको डे–अहेड तथा वास्तविक समय बजारबाट प्रतिस्पर्धी दरमा दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न अनुमति दिएको हो ।

प्राधिकरणले २०८३ मङ्सिर १ देखि २०८४ साउन १५ सम्म विद्युत् आयात गर्न पाउनेछ । बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्म भने आयात गर्न पाइने छैन । अनुमतिअनुसार कटैया–कुशाहा, रामनगर–सुरजपुरा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनबाट ३०० मेगावाट तथा न्यू नौतनिया–मैनहिया प्रसारण लाइनबाट ५० मेगावाट विद्युत् आयात गर्न सकिनेछ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले भारतबाट ३५० मेगावाट आयातको अनुमति प्राप्त भएकाले आगामी हिउँदयाममा विद्युत् माग र आपूर्ति व्यवस्थापन सहज हुने बताएका छन् ।

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको हिमबाढीका कारण जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुग्दा ४३१ मेगावाट जडित क्षमताका आयोजना राष्ट्रिय विद्युत् प्रणालीबाट विच्छेद भएका छन् ।

प्राधिकरणको अनुमानअनुसार यस वर्ष पुसदेखि चैतसम्म आन्तरिक उत्पादनभन्दा विद्युत् माग बढी हुनेछ। विशेषगरी माघ र फागुनमा दैनिक औसत ४५० देखि ५०० मेगावाटसम्म विद्युत् आयात गर्नुपर्ने देखिएको छ । उच्च माग हुने समयमा भने दैनिक ८०० देखि ९०० मेगावाटसम्म आयात आवश्यक पर्ने अनुमान छ ।

पुस र चैतमा तुलनात्मक रूपमा कम विद्युत् आयात गरे पुग्ने तथा वैशाखदेखि नदीमा पानीको बहाव बढेसँगै आन्तरिक उत्पादन वृद्धि भएर आयात घट्दै निर्यात सुरु हुने प्राधिकरणको आकलन छ ।

प्राधिकरणले तीनवटा जलविद्युत् आयोजनाबाट उत्पादित कुल ५६ मेगावाट विद्युत् भारतीय ऊर्जा विनिमय बजारमा बिक्री गर्न पनि अनुमति पाएको छ । उक्त विद्युत् पनि २०८३ मङ्सिर १ देखि २०८४ साउन १५ सम्म निर्यात गर्न सकिनेछ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।