अमेरिकाको दुवै सदनमा रिपब्लिकनले बहुमत गुमायो, संकटमा ट्रम्प

अ

काठमाडौँ । अमेरिकी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले दुवै सदनमा बहुमत गुमाएको छ । विपक्षी डेमोक्रेटिक पार्टीले सिनेटमा ५२ र प्रतिनिधिसभामा बहुमतका लागि आवश्यक २१८ सिटमा अग्रता हासिल गरेको छ ।

४३५ सदस्यीय तल्लो सदन प्रतिनिधिसभाका सबै सिटमा निर्वाचन भएको थियो । प्रारम्भिक मतगणनाअनुसार डेमोक्रेटिक पार्टीले २१८ सिटमा अग्रता बनाएको छ भने ट्रम्पको रिपब्लिकन पार्टी ११३ सिटमा अगाडि रहेको छ । बाँकी सिटको मतगणना जारी छ । प्रतिनिधिसभामा बहुमतका लागि २१८ सिट आवश्यक पर्छ ।

यस्तै, सिनेटका १०० सिटमध्ये यसपटक ३५ सिटका लागि निर्वाचन भएको थियो । अहिलेसम्म २८ सिटको नतिजा सार्वजनिक हुँदा डेमोक्रेटिक पार्टीले १८ र रिपब्लिकन पार्टीले १० सिट जितेका छन् । बाँकी सात सिटको मतगणना जारी छ । समग्रमा डेमोक्रेटिक पार्टीसँग ५२ र रिपब्लिकन पार्टीसँग ४१ सिट पुगेको छ । सिनेटमा बहुमतका लागि ५१ सिट आवश्यक हुन्छ ।

यसैगरी, अमेरिकाका ३६ राज्यमा भएको गभर्नर निर्वाचनमध्ये २४ राज्यको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजाअनुसार डेमोक्रेटिक पार्टीले १७ र रिपब्लिकन पार्टीले सात राज्यमा जित हासिल गरेका छन् । बाँकी राज्यमा मतगणना जारी रहेको छ ।

अमेरिकी इतिहासमा पछिल्ला २१ मध्यावधि निर्वाचनमध्ये १९ पटक राष्ट्रपतिको दलले हार बेहोरेको छ । सन् १९९८ मा राष्ट्रपति बिल क्लिन्टन र सन् २००२ मा राष्ट्रपति जर्ज डब्लु बुसको दलले मात्रै मध्यावधि निर्वाचनमा सफलता हासिल गरेका थिए ।

दुवै सदनमा बहुमत गुमाएपछि राष्ट्रपति ट्रम्पको आगामी राजनीतिक कार्यकालमा विपक्षी डेमोक्रेटिक पार्टीको प्रभाव बढ्ने देखिएको छ । संसद्का दुवै सदनमा बहुमत प्राप्त गरेसँगै डेमोक्रेटिक पार्टीलाई सरकारका नीति तथा निर्णयमाथि निगरानी र विधायिकी प्रक्रियामा प्रभाव पार्ने अवसर मिलेको छ ।

निर्वाचनपछि प्रतिक्रिया दिदै ट्रम्पले हरेक विषयमा भिटो प्रयोग नगर्ने र डेमोक्रेटसँग मिलेर काम गर्ने प्रतिक्रिया दिएका छन् । साथै उनले आफु उम्मेदवार नभएका कारण हार बेहोरेको समेत बताएका छन् ।  

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।