काठमाडौं । नेपाली कांग्रेसका पूर्वप्रवक्ता देवराज चालिसेले पार्टीको आन्तरिक विषयमा हस्तक्षेप नगर्न सत्तारूढ पक्षलाई चेतावनी दिएका छन् ।
कांग्रेसको वैधानिकता प्रमाणित गर्न सत्ता पक्षको कुनै व्यक्ति वा शक्तिको आवश्यकता नरहेको बताउँदै उनले पार्टी आफ्नै विधान र लोकतान्त्रिक प्रक्रियाबाट सञ्चालन हुने बताएका छन् ।
चालिसेले कांग्रेसका प्रत्येक सांगठनिक गतिविधि पार्टीको विधानअनुसार हुने र विधान देशको संविधान तथा प्रचलित कानुनको अधीनमा रहेर कार्यान्वयन हुने बताएका छन् । लाखौँ सदस्यको अभिमत, सहभागिता र वैधानिक प्रक्रियाबाट प्राप्त निर्णय नै पार्टी सञ्चालनको आधार भएको उनको भनाइ छ ।
उनले भनेका छन्- कांग्रेसको वैधानिकता प्रमाणित गर्न सत्ताद्वारा खडा गरिएको कुनै सिखण्डी, प्यादा वा कृपापात्रको आवश्यकता पर्दैन, लाखौँ सदस्यको अभिमत, तिनको सहभागिता र पार्टीको वैधानिक प्रक्रियाबाट प्राप्त निर्णय नै कांग्रेस सञ्चालनको आधार हो । पार्टीभित्र विमति हुन सक्छन्, असहमति हुन सक्छन् । ती आन्तरिक विषय हुन् र लोकतान्त्रिक प्रक्रियाबाट समाधान हुँदै जान्छन् । कांग्रेसभित्रको असहमतिलाई देखाएर लोकतन्त्रविरोधीहरूले हर्षबढाइँ गर्नु कुनै आवश्यक छैन ।’
उनले सत्तारूढ पक्षलाई आफ्नो समस्या आफैँ समाधान गर्न र कांग्रेसको आन्तरिक विषयमा अनावश्यक चासो नराख्न आग्रह गरेका छन्।
कांग्रेस सामाजिक सञ्जालका अभिव्यक्ति र उत्तेजनात्मक भाषणबाट निर्माण भएको पार्टी नभएको बताउँदै चालिसेले कलाकार र राजनेता हुनु, भीड जम्मा गर्नु र राजनीतिक दल निर्माण गर्नु तथा चुनाव जित्नु र लोकतान्त्रिक संस्कार स्थापित गर्नु फरक विषय भएको उल्लेख गरेका छन् ।
सत्ताको उन्मादमा इतिहासलाई चुनौती नदिन चेतावनी दिँदै उनले शक्ति स्थायी नहुने र अहंकारको आयु छोटो हुने बताएका छन् । सद्दाम हुसेन, मुअम्मर गद्दाफी र एडोल्फ हिटलरजस्ता शासकको पतन स्मरण गराउँदै उनले इतिहासले कसैलाई सधैँ उन्मुक्ति नदिने टिप्पणी गरेका छन् । आज दबाइएका वा ओझेलमा पारिएका प्रश्नको जवाफदेहिताको समय पनि आउने उनको चेतावनी छ ।

