बाँके । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा आठ जना घाइते भएका छन् । आइतबार बिहान कम्पनीभित्र रहेको फलाम पगाल्ने भट्टीमा विद्युत् सर्ट सर्किट हुँदा आगलागी भएको हो ।
प्रहरीका अनुसार आइतबार बिहान करिब ५: ४० बजे २५ टन क्षमताका तीनवटा भट्टीमा अचानक आगलागी भएको थियो । घटनामा बाँकेका पाँच जना र भारतको बहराइच जिल्लाका तीन जना घाइते भएका छन् ।
घाइतेहरूलाई उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज पठाइएको थियो। थप उपचार आवश्यक परेपछि घाइते शिवप्रसाद चमार र रामदिन हरिजनलाई बिहान ८: ४५ बजे भारतको लखनउ रिफर गरिएको छ ।
आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लुद्रबहादुर केसीको कमान्डमा पाँच सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो। नेपालगञ्ज उपमहानगरपालिकाका दुई र कोहलपुर नगरपालिकाको एक दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो ।
प्रहरीले आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको जानकारी दिदै अन्य भौतिक तथा आर्थिक क्षतिको विवरण भने खुल्न बाँकी रहेको जनाएको छ ।

