काठमाडौं । अफगानिस्तानका स्टार स्पिनर राशिद खान टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा २०० विकेट पूरा गर्ने विश्वकै पहिलो बलर बनेका छन् । बिहीबार जिम्बाब्वेविरुद्धको खेलमा तादिवानाशे मरुमानीलाई आउट गर्दै उनले यो ऐतिहासिक उपलब्धि हासिल गरेका हुन् ।
राशिदले टी–२० अन्तर्राष्ट्रियमा २०० विकेट पूरा गर्नुका साथै समग्र टी–२० क्रिकेटमा पनि आफ्नो दबदबा कायम राखेका छन् । उनी यसअघि नै ७०० भन्दा बढी विकेट लिँदै टी–२० क्रिकेटमा सर्वाधिक विकेट लिने बलर बनिसकेका छन् ।
उनका २०० अन्तर्राष्ट्रिय विकेटमध्ये १५० विकेट एसियाली भूमिमा लिएका छन् । यो एसियामा कुनै पनि बलरले लिएको सर्वाधिक विकेट हो । त्यस्तै, संयुक्त अरब इमिरेट्समा उनले ७९ विकेट लिएका छन् । कुनै एक देशमा बलरले लिएको विकेटका आधारमा यो तेस्रो ठूलो संख्या हो ।
राशिदले टी–२० अन्तर्राष्ट्रियमा आयरल्यान्डविरुद्ध सर्वाधिक ४५ विकेट लिएका छन् । त्यस्तै, जिम्बाब्वेविरुद्ध ३८ विकेट लिएका छन् । उनले जिम्बाब्वेका रायन बर्ललाई सात पटक आउट गरेका छन्, जुन यस प्रारूपमा कुनै एक ब्याटरलाई आउट गरेको सर्वाधिक संख्या हो ।
राशिदका २०० विकेटमध्ये १४२ विकेट सातौँदेखि १६औँ ओभर अर्थात् मध्य ओभरमा आएका छन् । त्यस्तै, १७औँदेखि २०औँ ओभरसम्म उनले ५६ विकेट लिएका छन्। पहिलो ६ ओभरमा भने उनले केवल दुई विकेट लिएका छन् ।
राशिदले एकै इनिङ्समा चार वा त्योभन्दा बढी विकेट ११ पटक लिएका छन् । यो उपलब्धि हासिल गर्ने मामिलामा उनी अन्य सबै बलरभन्दा दुई पटक अगाडि छन् ।
टी-२० क्रिकेटमा सबै भन्दा पहिला ५० विकेट लिने किर्तिमान पाकिस्तानका शहिद अफ्रिदीको नाममा रहेको छ भने १०० विकेट लिने किर्तिमान श्रीलंकाका लासिथ मलिंगाको नाममा रहेको छ । त्यस्तै, पहिलो पटक १५० विकेट लिने किर्तिमान न्यूजील्याण्डका टिम साउथीको नाममा रहेको छ ।

