लालबकैया नदीमा डुबेकी महिलालाई इन्स्पेक्टर केसीले जोखिम मोलेर बचाए

ल

न्यूज कारखाना

रौतहट, १३ असोज । रौतहटको मौलापुर नगरपालिका–४ स्थित लालबकैया नदीमा डुबिरहेको अवस्थामा एक महिलाको प्रहरीले सकुशल उद्धार गरेको छ।

मंगलबार बिहान करिब ५ः४० बजे माधवनारायण नगरपालिका–१ दिपहीटोलकी करिब ३५ वर्षीया ललिता देवी पासवान लालबकैया नदीमा हाम फालेर डुबिरहेको अवस्थामा स्थानीयले देखेका थिए।

घटनाबारे जानकारी पाएलगत्तै मर्निङ वाकमा रहेका इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) भरत केसी तत्काल घटनास्थलतर्फ पुगे।
नदीमा महिला डुबिरहेको देखेपछि इन्स्पेक्टर केसीले कुनै सुरक्षा उपकरण वा लाइफ ज्याकेटबिनै नदीमा प्रवेश गरी जोखिम मोलेर उनको उद्धार गरेका थिए। उनले महिलालाई नदीबाट बाहिर निकाली तत्काल सुरक्षित स्थानमा ल्याएका थिए।

उद्धारपछि महिलालाई इलाका प्रहरी कार्यालय मौलापुरमा ल्याइएको प्रहरीले जनाएको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको र परिवारका सदस्यलाई समेत घटनाबारे जानकारी गराइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ललिता घरायसी समस्याका कारण मंगलबार बिहान करिब ५ बजे घरबाट कसैलाई जानकारी नदिई निस्किएकी थिइन्। उनका श्रीमान् काठमाडौंमा कपडा सिलाउने काम गर्दै आएका छन् भने उनीहरूका चार छोरा छन्। घटनास्थल इलाका प्रहरी कार्यालय मौलापुरबाट करिब चार किलोमिटर पूर्वमा पर्छ।

समयमै स्थानीयबाट सूचना पाउनु र त्यसलगत्तै घटनास्थल पुगेका इन्स्पेक्टर केसीले तत्काल उद्धारका लागि नदीमा प्रवेश गर्नुका कारण महिलाको ज्यान जोगिएको प्रहरीले जनाएको छ। उद्धारका क्रममा स्थानीयवासीले समेत सहयोग गरेका थिए।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।