क्षेत्रीय अधिवेशन चल्दै गर्दा कांग्रेसको महाधिवेशनको मिति सार्ने तयारी

क

न्युज कारखाना

काठमाडौं, १३ असोज । नेपाली कांग्रेसले १५औं महाधिवेशनअन्तर्गत अहिले क्षेत्रीय अधिवेशन धमाधम भइरहेको छ । मंगलबार ६० भन्दा बढी जिल्लामा अधिवेशन जारी छ । 

क्षेत्रीय अधिवेशन चल्दै गर्दा कांग्रेसमा १५औं महाधिवेशनको नयाँ मिति टुंगो लगाउने तयारी भइरहेको छ । केन्द्रीय कार्यालयको टिमको अनौपचारिक बैठक बसेर नयाँ मिति टुंगो लगाउने एक पदाधिकारीले जानकारी दिए ।

कांग्रेसले १५ औं महाधिवेशनको मिति यसअघि असोज १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय गरेको थियो । त्यसका लागि विभिन्न राजनीतिक दलका नेताहरुलाई निम्तो पठाइसकिएको छ । तर असोज ८ गतेदेखि ११ गतेसम्मको अविरल वर्षासँगैको बाढीपहिरोले तल्ला तहका अधिवेशन प्रभावित भएपछि महाधिवेशन केही दिन पछि सार्ने तयारी गरिएको हो ।

दशैं, तिहार, छठ जस्ता ठूला चाडपर्वहरु नजिकिइसकेकाले त्यसभन्दा अघि गर्ने कि पछि भन्ने निर्णय आज टुंगो लाग्ने कांग्रेस संस्थापन पक्षका नेताहरु बताउँछन् ।

स्रोतका अनुसार शेरबहादुर देउवा पक्षलाई पनि समेट्ने गरी कम्तीमा एक महिनापछि महाधिवेशनको मिति सार्ने कि असोज १९ गते उद्घाटन गर्ने गरी नयाँ मिति राख्ने भन्नेमा छलफल जारी छ । देउवा समूहले पनि आगामी मंसिरमा छुट्टै १५औं महाधिवेशन गर्ने भन्दै तयारी थालेको छ । सकेसम्म देउवा समूहलाई पनि एकताको महाधिवेशनमा ल्याउन सभापति गगन थापाले परामर्श थालेका छन् ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।