सञ्जय मिश्रा
रौतहट, ४ असोज । बारामा प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) प्रकाश कुमार खत्री भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्।
जिल्ला प्रहरी कार्यालय बाराको तालिम शाखामा दरबन्दी रही इलाका प्रहरी कार्यालय अमलेखगञ्जमा कार्यरत खत्रीलाई कार्यसम्पादन र जिम्मेवारी निर्वाहमा देखाएको सक्रियताका आधारमा ‘महिनाको उत्कृष्ट प्रहरी’ छनोट गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
‘महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि–२०८३’ अनुसार खत्रीलाई भदौ महिनाका लागि उत्कृष्ट प्रहरी छनोट गरिएको हो।
आइतबार जिल्ला प्रहरी कार्यालय कलैयामा आयोजित कार्यक्रममा बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले खत्रीलाई प्रशंसापत्र तथा पुरस्कार प्रदान गरे।
प्रहरी कर्मचारीको मूल्यांकन केवल कार्यालयमा उपस्थित हुने वा नियमित जिम्मेवारी पूरा गर्ने विषयमा सीमित नरही जिम्मेवारीप्रतिको सक्रियता, अनुशासन, कार्यसम्पादन र सेवाप्रतिको प्रतिबद्धतालाई समेत आधार बनाउने अभ्यासका रूपमा उत्कृष्ट प्रहरी छनोटलाई हेरिएको छ।
हरेक महिना उत्कृष्ट प्रहरी छनोट गर्ने अभ्यासले राम्ररी काम गर्ने प्रहरी कर्मचारीको पहिचान र प्रोत्साहनसँगै संगठनभित्र जिम्मेवारीप्रति थप उत्तरदायी बन्ने वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ।
पुरस्कार ग्रहण गरेपछि वरिष्ठ सई खत्रीले आगामी दिनमा पनि संगठनले दिएको जिम्मेवारीलाई इमानदारी र प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

