जेलेन्स्कीको विमान ड्रोन आक्रमणबाट जोगियो

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सवार विमान  मोल्दोभाबाट उडान भर्ने क्रममा ड्रोन आक्रमणको जोखिमबाट जोगिएको नर्वेका प्रधानमन्त्री जोनास गार स्टोरेले बताएका छन् ।

स्टोरेका अनुसार जेलेन्स्कीको विमान उडान भर्न लागेका बेला एउटा ड्रोन विमाननजिकै पुगेको थियो । ड्रोन कति दूरीमा थियो भन्नेबारे भने उनले जानकारी दिएनन् । ड्रोनको चेतावनीपछि जेलेन्स्कीको उडान केही समय ढिला भएको थियो ।

जेलेन्स्की नर्वेका राजा हेराल्ड पाँचौँको अन्त्येष्टिमा सहभागी हुन ओस्लो जाँदै थिए । उनको विमान मोल्दोभाको चिसिनाउ अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको थियो । ड्रोनको चेतावनीपछि विमानस्थलको हवाई क्षेत्र बन्द गरिएको थियो । पछि मोल्दोभाका अधिकारीहरूले देशभित्र रुसी ड्रोन खसेको पुष्टि गरेका थिए । उक्त ड्रोन विमानस्थलबाट करिब १६० किलोमिटर टाढा खसेर नष्ट भएको जनाइएको छ । त्यसपछि जेलेन्स्कीको विमानलाई उडानको अनुमति दिइएको थियो ।

मोल्दोभाले ड्रोन रुसी भएको जनाएको छ । तर उक्त ड्रोन जेलेन्स्कीको विमानलाई लक्षित गरेर पठाइएको थियो वा अन्य कुनै लक्ष्यतर्फ जाँदै थियो भन्ने अझै स्पष्ट भएको छैन ।

अमेरिकाका लागि मोल्दोभाका राजदूत वलादिस्लाव कुल्मिन्स्कीले ड्रोन संयोगवश मोल्दोभा प्रवेश गरेको सम्भावना कम रहेको बताएका छन् । उनले जेलेन्स्कीको विमान विमानस्थलमा रहेका बेला जेट इन्जिनबाट चल्ने ड्रोन मोल्दोभा प्रवेश गर्नुलाई संयोग मात्र मान्न कठिन रहेको बताएका थिए ।

मोल्दोभाकी राष्ट्रपति माइया सान्दुले ड्रोन देशभित्र प्रवेश गर्नु गम्भीर सुरक्षा खतरा भएको बताएकी छन् । उनले युक्रेनको सीमासँग जोडिएको क्षेत्रमा भएको रुसी ड्रोन आक्रमणको समेत निन्दा गरेकी छन् । उक्त आक्रमणमा दुई जनाको मृत्यु भएको थियो ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।