तनहुँ, २८ वैशाखः र्याबिट कन्र्सन नेपालको सहयोगमा यहाँका ११ किसानलाई आइतबार तीनवटाका दरले ३३ वटा खरायोका बच्चा सहयोग गरिएको छ ।
कन्र्सनकी निर्देशक पूजा पौडेलले वडाध्यक्ष वसन्तबहादुर आलेलाई केजसहित क्यालिफोर्निया जातको खरायोका बच्चा हस्तान्तरण गर्नुभएको हो । खरायो पैँचो कार्यक्रम नेपालमै पहिलोपटक यस क्षेत्रमा सुरुआत गरिएको र आउँदा दिनमा विस्तार गर्दै लैजाने योजना रहेको निर्देशक पौडेलले बताउनुभयो ।
उहाँले भन्नुभयो, “यस कार्यक्रमअन्तर्गत खरायोले बच्चा जन्माएपछि तीनवटा उक्त संस्थालाई हस्तान्तरण गर्नुपर्ने हुन्छ, बाँकी रहेका खरायो आफूखुसी बिक्रीका साथै उत्पादन वृद्धि गर्न सकिनेछ ।”
यसरी फिर्ता गरिएका खरायोका बच्चा पुनः अन्यत्र सहयोग गरिने सो संस्थाले जनाएको छ । केही वर्षअघि खरायोका मासु बिक्री नभएर किसान चिन्तित भएको अवस्थामा अहिले मागअनुरूप पूर्ति गर्न नसकिएको र्याबिट कन्र्सन नेपालका संरक्षक किरण पौडेलले बताउनुभयो । पोथी खरायोले छ महिनामा भाले लिन तयार हुन्छन्, एकपटकमा चार वटादेखि बाह्र वटासम्म बच्चा जन्माउन सक्ने क्षमता हुन्छ ।
भाले लिएको ३० दिनभित्र पोथी खरायो ब्याएपछि नौ÷दश दिनसम्म दूध खुवाउनुपर्छ, त्यसपछि घाँस, मकै र पानी खुवाएर पाल्न सकिन्छ । उहाँले भन्नुभयो, “चार महिनामा दुईदेखि पाँच किलोग्रामसम्म तौल हुने र जिउँदो प्रतिकिलोग्राम २५० देखि ३०० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।”
गरिबी निवारणका लागि व्यावसायिक रुपमा अघि बढाउन संस्थाको लगानीमा किसानलाई केजसहित खरायोका बच्चा सहयोग गरिएको संरक्षक पौडेलले बताउनुभयो । अन्य पशुको तुलनामा खरायोको मृत्युदर कमी हुन्छ । विश्वमै पाइने चारखुट्टे जनावरमध्ये यसको मासु उत्तम र फाइदाजनक मानिन्छ ।
किन पाल्ने खरायो ?
थोरै लगानीबाट सुरु गर्न सकिने व्यवसायका रूपमा खरायोपालनलाई लिन सकिन्छ । कम मिहिनेत र सानो क्षेत्रफलमा व्यवसाय सञ्चालन गर्न सकिने भएकाले निम्न वर्गका मानिसले पनि खरायो पाल्न र आम्दानी लिन सक्नेछन् । पाहुना सत्कार एवं आम्दानीको स्रोत, घरायसी आहारा (घाँस एवं अन्नपात), बहुआयामिक उपयोग (मासु, छाला, ऊन, मल) प्रयोग गर्न सकिने र्याबिट कन्र्सन नेपालका संरक्षक किरण पौडेलले बताउनुभयो ।
स्थानीय सामग्रीबाट खोर निर्माण गर्न सकिने थोरै माउ खरायोबाट निरन्तर उत्पादन हुने, कुपोषणको अन्त्य र गरिबी निवारणमा सघाउ पुग्नुका साथै रोजगारीको सरल माध्यमका रूपमा यस व्यवसायलाई लिन सकिन्छ । मासु आयात प्रतिस्थापन गर्दै निर्यातको समेत सम्भावना रहेकाले भावी दिनमा मासु, ऊन र छालाजन्य हस्तकला उद्योग सञ्चालन गर्न सकिने अपेक्षा गरिएको छ ।
खरायो मासुका बिशेषता
मासु स्वादिलो एवं स्वस्थकरका साथै सेतो मासु वर्गमा प्रमुख, सुपाच्य प्रोटिनको प्रचुरता र न्यून कोलेस्ट्रोल एवं चिल्लो पदार्थ पाइने संरक्षक पौडेल बताउनुहुन्छ । न्यूनतम क्यालोरी ओमेगा–३ को स्रोत प्रशस्त पाइन्छ । मानव शरीरका लागि आवश्यक क्याल्सियम, फस्फोरस पोटासियम, आइरनको उपलब्धता हुन्छ भने मुटु, दम, मधुमेहलगायत रोगमा लाभदायी हुने भएकाले खरायोको मासुको माग बढ्दो अवस्थामा रहेको पाइन्छ ।
–––
