भोटेकोशीमा बाढीपछि धादिङ प्रशासनद्वारा सतर्कता अपनाउन आग्रह

धादिङ । चीनको तिब्बतबाट नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा आकस्मिक बाढी आएको सूचना प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालय धादिङले त्रिशूली नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

रसुवा जिल्ला प्रशासन कार्यालयबाट भोटेकोशी नदीमा आकस्मिक बाढी आएको सूचना प्राप्त भएको जनाउँदै धादिङ प्रशासनले त्रिशूली नदीको बहाव बढ्न सक्ने र विपद्को जोखिम हुनसक्ने भएकाले नदीमा माछा मार्ने तथा अन्य काम गर्ने व्यक्ति र मजदुरलाई नदीमा नजान अनुरोध गरेको छ । नदीमा गइसकेकाहरूलाई तत्काल सुरक्षित स्थानमा जान पनि आग्रह गरिएको छ ।

त्रिशूली नदी आसपासका क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण, निर्माणाधीन तथा सञ्चालनमा रहेका आयोजना र नदी तटीय क्षेत्रमा रहेका कार्यालयलाई आवश्यक पूर्वतयारी तथा सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ । कुनै विपद्जन्य घटना भएमा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र, स्थानीय जनप्रतिनिधि वा नजिकको सुरक्षा निकायलाई तत्काल जानकारी गराउन पनि अनुरोध गरिएको छ ।

आपतकालीन अवस्थामा  नेपाल प्रहरी: १००, सशस्त्र प्रहरी बल नेपाल: १११४, जिल्ला आपतकालीन सञ्चालन केन्द्र: १३४९ वा ०१०–५३२१४६४, जिल्ला प्रशासन कार्यालय, धादिङ सूचना अधिकारी: ९८५१२९६१३१ र जिल्ला प्रहरी कार्यालय, धादिङ सूचना अधिकारी: ९८५१२२९६६० मा सम्पर्क गर्न सकिने जनाएको छ ।

प्रशासनले नदीको बहावमा अचानक परिवर्तन आउन सक्ने भएकाले त्रिशूली नदीको तटीय क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।