बेनी हाइड्रोपावरको सर्वसाधारणका लागि आइपीओ भदौ २२ गतेदेखि खुल्दै

काठमाडौं । बेनी हाइड्रोपावरले भदौ २२ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ८ लाख ६३ हजार २ सय कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।

कम्पनीको सेयर निष्कासन भदौ २५ गतेसम्म खुला रहनेछ र उक्त अवधिमा मागअनुसार सेयर बिक्री नभएमा आवेदन दिने समय असोज ५ गतेसम्म थप गरिने आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटल लिमिटेडले जानकारी दिएको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको जारी पुँजी १ अर्ब ४ करोड रुपैयाँ रहेको छ । यसको २० प्रतिशत अर्थात् २० लाख ८० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । त्यसमध्ये १० लाख ४० हजार कित्ता सेयर आयोजना प्रभावित सोलुखुम्बु जिल्लाका स्थानीय बासिन्दाका लागि यसअघि नै छुट्याइएको थियो । सर्वसाधारणका लागि छुट्याइएको १० लाख ४० हजार कित्तामध्ये १ लाख ४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, २० हजार ८ सय कित्ता कम्पनीका कर्मचारीका लागि र ५२ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । 

आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि शेयर बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका बाँकी ८ लाख ६३ हजार २ सय कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागिएको हो । 

यसैबीच, इक्रा नेपालले बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको जारीकर्ता मूल्यांकनलाई ‘आईसीआरएएनपी-आईआर बीबी’ बाट बढाएर ‘आईसीआरएएनपी-आईआर बीबी प्लस’ कायम गरेको छ । यसको अर्थ वित्तीय दायित्व समयमै पूरा गर्ने क्रममा कम्पनीमा मध्यम स्तरको जोखिम रहेको भन्ने हो ।

सन् २०१६ मा स्थापना भएको बेनी हाइड्रोपावरले सोलुखुम्बु जिल्लाको बेनी तथा सल्लेरी क्षेत्रमा १८ मेगावाट क्षमताको माथिल्लो सोलुखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।