अहिलेसम्मकै सबैभन्दा ठूलो अमेरिकन आर्थिक आक्रमणको सामना गर्न इरान तयार

तेहरान, ९ भदाैं । अमेरिकाले इरानविरुद्ध ‘इकोनोमिक डी डे’ अर्थात निर्णायक आर्थिक प्रहारको घोषणा गर्दै उसका समर्थकहरूलाई धम्की दिए पछि इरानले थपिएका प्रतिबन्धहरूको सामना गर्न आफूसँग दुई वर्षे योजना रहेको बताएको छ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले यसलाई ‘अहिलेसम्मकै सबैभन्दा ठूलो वित्तीय आक्रमण’ भने पछि जवाफमा इरानका अर्थमन्त्री अली मदानीजादेहले इरान अमेरिकी प्रतिबन्धहरूको सामना गर्न पूर्ण रूपमा तयार रहेको र यसले वासिङ्टनका लागि अर्को हार निम्त्याउनेसमेत दावी गरेका छन् ।

इरानी सरकारमाथि आएको पछिल्लो धम्कीको सन्दर्भमा बेसेन्टले अमेरिकाले उक्त देशसँगका सबै आर्थिक सम्बन्ध तोड्ने र इरानसँग आर्थिक साझेदारी गर्ने कुनै पनि राष्ट्रलाई एक्ल्याइने बताएका थिए ।

द्वन्द्व अन्त्य गर्ने प्रयासमा ह्वाइट हाउसले लिएका निर्णयहरूमा फेरबदल र म्याद थपिने क्रम पछि यो घटनाक्रम अघि बढेको हो। बेसेन्टको घोषणाको केही घण्टा पछि नै मदानीजादेहले इरान लामो समयदेखि यस्तै योजनाहरूको प्रतीक्षामा रहेकोसमेत बताएका छन् ।

‘सरकार तयार छ र थियो, हामीसँग यी घटनाक्रमहरू व्यवस्थापन गर्न दुई वर्षे योजना छ,’ उनले सरकारी टेलिभिजनमा भने, ‘हामीसँग आफ्नै उपायहरू छन् र यो खेल कसरी खेल्ने भन्ने हामीलाई थाहा छ।’

उनले चीन वा रुस कसैले पनि अमेरिकी कदमहरूलाई स्वीकार नगरेकोसमेत बताए र अन्य देशहरूले पनि यसको विरोध गर्ने अनुमान गरेका छन् ।  चिनियाँ विदेश मन्त्रालयले प्रतिबन्ध र दबाबका रणनीतिहरूले कुनै मद्दत नगर्ने बताउँदै बेइजिङले चीनको हितको रक्षा गर्न आवश्यक कदम चाल्ने जनाएको छ।

यस युद्धका कारण विश्वभर तेलको मूल्य बढेको छ। पछिल्लो धम्कीको जवाफमा इरानले चेतावनी दिएको छ कि यदि युद्ध जारी रहेमा उसले यस क्षेत्रबाट हुने सम्पूर्ण तेल निर्यात बन्द गर्नेछ।

समाचार अनुसार इरानी सरकारले पानी जहाजहरूलाई अनुमति बिना ‘स्ट्रेट अफ हर्मुज’ भएर नजान नयाँ चेतावनी पनि जारी गरेको छ। इरानको दक्षिणमा पर्ने यो साँघुरो जलमार्ग भएर सामान्यतया विश्वको कुल तेल र ग्यासको पाँचौं भाग अर्थात २० प्रतिशत आवतजावत हुने गर्दछ तर फेब्रुअरीको अन्त्यमा द्वन्द्व सुरु भए यता इरानले यस मार्गको आवागमनलाई प्रभावकारी रूपमा अवरुद्ध पारेको छ, जसका कारण विश्वभर तेलको मूल्य बढेको छ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।