१४औँ दक्षिण एसियाली खेलकुद पाकिस्तानमा हुने, २८ खेल समावेश

काठमाडौँ । १४औँ दक्षिण एसियाली खेलकुद २०८३ साल चैत २० देखि २८ गतेसम्म (सन् २०२७ को अप्रिल ३ देखि ११ तारिखसम्म) पाकिस्तानमा आयोजना हुने भएको छ ।

इस्लामाबादमा बसेको दक्षिण एसिया ओलम्पिक परिषद्को कार्यकारी समितिको बैठकले प्रतियोगिताको मिति र खेल कार्यक्रम तय गरेको हो । पाकिस्तानले आयोजना गर्ने प्रतियोगितामा नेपालसहित बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका खेलाडी सहभागी हुनेछन् ।

प्रतियोगितामा एथलेटिक्स, पौडी, तीरन्दाजी, ब्याडमिन्टन, बास्केटबल, बिलियर्ड्स तथा स्नूकर, बक्सिङ, क्रिकेट, फेन्सिङ, फुटबल, गल्फ, ह्यान्डबल, जुडो, हकी, कबड्डी, कराते, रोइङ, रग्बी, सुटिङ, स्क्वास, टेबल टेनिस, तेक्वान्दो, टेनिस, ट्रायथलन, भलिबल, भारोत्तोलन, कुस्ती र वुसुसहित २८ खेल समावेश गरिएको छ ।

‘दक्षिण एसियामा एकता, खेलकुदमा शक्ति’ भन्ने नारासहित आयोजना हुने प्रतियोगिताले क्षेत्रीय खेलाडी र खेल समुदायलाई एकताबद्ध गर्ने आयोजकले जनाएको छ ।

बैठकमा नेपाली टोलीका तर्फबाट नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष चतुरानन्द राज वैद्य तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं निर्देशन समितिकी सदस्य सिका सुवाल श्रेष्ठ सहभागी थिए ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।