काठमाडौं, ३ भदौं । भारतमा एक होटलमा आगलागी हुदाँ ९ जनाको जलेर मृत्यु भएको छ ।
गत राती करिब २ बजे कोलकाताको एउटा होटलमा आगलागी हुँदा एक बालक सहित ९ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन ।
फ्रि स्कुल स्ट्रिटस्थित ‘होटल तैबा’ मा आगलागी सुरु हुँदा त्यहाँका अधिकांश पाहुनाहरू निद्रामा थिए। होटल भरि धुवाँ फैलिएका कारण निसास्सिएर उनीहरूको मृत्यु भएको हो। मृतकहरूमा उपचारका लागि सहर आएका केही बंगलादेशी नागरिकहरू पनि समावेश रहेको जनाइएको छ।
अग्नि नियन्त्रण विभागको मुख्यालय होटल नजिकै अवस्थित छ। विभागका कर्मचारीहरू तत्काल घटनास्थलमा पुगे र भित्र फसेकाहरूलाई बाहिर निकाल्न उद्धार कार्य सुरु गरेका थिए ।
सो क्रममा भर्याङको प्रयोग गरी अग्नि नियन्त्रण विभागका कर्मचारीहरूले होटलका झ्यालहरू फुटाए र भित्र फसेका २८ जनाको उद्धार गरेका थिए । उनीहरूलाई कोलकाताका विभिन्न अस्पतालहरूमा भर्ना गरिएको छ।
कोलकाताको ‘फ्री स्कुल स्ट्रिट’ मा धेरै होटलहरू छन्, जहाँ उपचार वा अन्य कामका लागि आउने बंगलादेशी नागरिकहरू बस्ने गर्दछन् । मृतकहरूमा बंगलादेशी नागरिकका साथै पश्चिम बंगालको मेघालय र अलिपुरद्वारका व्यक्तिहरू पनि समावेश रहेका छन्। आगलागीको कारण अझैसम्म पत्ता लाग्न सकेको छैन।

