विद्युत् खपत बढाउन र निर्यात विस्तार गर्न ऊर्जामन्त्री श्रेष्ठको जोड

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र निर्यात विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

नेपाल विद्युत् प्राधिकरणको ४१औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले घरायसी उपभोक्तालाई सहुलियत दरमा भरपर्दो विद्युत् उपलब्ध गराउँदै उत्पादनमूलक उद्योगलाई स्थिर दरमा विद्युत् दिने सरकारको प्रयास रहेको बताए।

उनले वर्षायाममा बढी हुने विद्युत्को उपयोग बढाउन मौसमी विद्युत् दर लागू गर्ने तयारी भइरहेको जानकारी दिए । विद्युत् उत्पादनसँगै प्रसारण तथा वितरण प्रणाली सुदृढ गर्दै तेस्रो मुलुकसम्म विद्युत् निर्यात विस्तार गर्ने सरकारको लक्ष्य रहेको उनको भनाइ थियो।

मन्त्री श्रेष्ठका अनुसार हाल ९७.६ प्रतिशत जनतामा विद्युत् पहुँच पुगेको छ भने ५९ लाखभन्दा बढी ग्राहक विद्युत् सेवासँग जोडिएका छन् । प्रतिव्यक्ति विद्युत् खपत ४६५ किलोवाट घण्टा पुगेको र नेपाल करिब ३० अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गर्न सक्ने अवस्थामा पुगेको उनले बताए।

उनले पुराना संरचना सुधार, प्रसारण लाइन तथा सबस्टेसन विस्तार, विद्युत् चुहावट नियन्त्रण र वितरण प्रणालीको आधुनिकीकरणलाई प्राथमिकता दिनुपर्ने बताए । साथै, विद्युत् महसुलको बक्यौता कानुनअनुसार असुल गर्न सरकार स्पष्ट रहेको पनि उनले उल्लेख गरे । मन्त्री श्रेष्ठले विद्युत् क्षेत्रलाई रोजगारी, उद्योग, कृषि, शिक्षा, स्वास्थ्य र समग्र आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्नुपर्ने बताए ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।