एनआरएनएद्वारा वंशजको नागरिकताको निरन्तरता हुनुपर्ने माग

काठमाडौँ । गैरआवासीय नेपाली संघले विदेशमा रहेका नेपाली तथा नेपाली मूलका व्यक्तिका लागि वंशजको नेपाली नागरिकताको निरन्तरता हुनुपर्ने माग दोहोर्याएको छ । ग्वाङ्झाउमा जारी ११औँ एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलन तथा ‘आरोहण–२०२६ ’ मा नागरिकता, मतदान अधिकार र गैरआवासीय नेपालीका कानुनी अधिकारबारे छलफल भएको हो ।

एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले विश्वका ११० देशमा रहेका नेपालीको साझा प्रमुख माग वंशजको नागरिकताको निरन्तरता रहेको बताए । उनले नागरिकतासम्बन्धी विषयलाई समेट्ने छुट्टै कानुनी संरचना आवश्यक रहेको र संविधानको धारा २९१ संशोधन वा खारेज गर्नुपर्ने माग गरे। करिब ११ वर्षदेखि अल्झिएको नागरिकता विधेयक तत्काल संसद्मा ल्याउन पनि उनले सरकारसँग आग्रह गरे ।

एनआरएनएका प्रमुख संरक्षक एवं पूर्वअध्यक्ष बद्री केसीले विदेशमा रहेका नेपालीको ज्ञान, सीप, पुँजी र अनुभव नेपालमा उपयोग गर्ने वातावरण बनाउनुपर्ने बताए । उनले नेपालमा ठूलो रेमिट्यान्स पठाउने नेपालीहरू अझै नागरिकताको अधिकारका लागि संघर्ष गरिरहेको उल्लेख गरे ।

सम्मेलनमा सहभागी नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा तथा अन्य दलका सांसदहरूले एनआरएनएको मागमा सकारात्मक धारणा राख्दै साझा कार्यदल गठन, कानुन संशोधन र आवश्यक परे संविधान संशोधनमार्फत विषय अघि बढाउने प्रतिबद्धता जनाएका छन् । ‘एक पटकको नेपाली, सधैंको नेपाली’ अवधारणालाई व्यवहारमा लागू गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

सम्मेलनमा नागरिकतासँगै नेपालमा गैरआवासीय नेपालीको लगानी, पुँजी, ज्ञान र सीप परिचालनको विषय पनि उठेको छ । सहभागीहरूले राजनीतिक अस्थिरता, कानुनी तथा प्रशासनिक जटिलता र लगानीमैत्री वातावरणको अभावले लगानी प्रभावित भएको भन्दै सरकारले लगानीकर्तालाई सहज वातावरण बनाउनुपर्ने बताएका छन् ।

एनआरएनएले सम्मेलनबाट नागरिकता र लगानीसहितका माग घोषणापत्रमा समेटेर सरकार र संसद्लाई पुनः स्मरण गराउने जनाएको छ । राजनीतिक प्रतिबद्धता बढे पनि वंशजको नागरिकता निरन्तरताका लागि संविधान तथा कानुन संशोधन, संसद्को प्रक्रिया र राजनीतिक सहमति आवश्यक रहेकाले माग तत्काल कार्यान्वयन हुने अवस्था भने बनिसकेको छैन ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।