भारतकाे बाबाधाममा बस दुर्घटनामा, रौतहटका तीन तीर्थयात्रीको मृत्यु

रौतहट, २९ साउन । बोलबम यात्राका लागि भारतको झारखण्ड पुगेका रौतहटका तीर्थयात्री सवार बस दुर्घटनामा पर्दा तीन जनाको मृत्यु भएको छ।


गरुडा नगरपालिका–६ पोठियाहीबाट गत आइतबार बाबाधाम यात्रामा निस्किएको ना।६ ख १५५४ नम्बरको बस शुक्रबार बिहान करिब ३ बजे झारखण्डको सतगावाँ क्षेत्रमा मालवाहक ट्रकसँग ठोक्किएको हो।

दुर्घटनामा गरुडा–६ पोठियाहीका ६० वर्षीय नवल किशोर जयसवाल, उनकी श्रीमती सुन्दर बाला देवी र १० वर्षीय शिवम महतोको मृत्यु भएको स्थानीयले बताएका छन् । दुर्घटनाको खबर गाउँमा पुगेपछि मृतक तथा घाइतेका आफन्तहरू बिहानै चारवटा सवारीसाधन रिजर्भ गरेर भारततर्फ गएका छन्। उनीहरू घटनास्थल तथा घाइतेको उपचार भइरहेको अस्पतालमा पुगेका छन्।


प्रारम्भिक जानकारीअनुसार बसमा करिब ४५ जना बोलबम तीर्थयात्री सवार थिए। उनीहरू बासुकीनाथ दर्शन सकेर देवघर हुँदै राजगीरतर्फ जाने क्रममा सतगावाँ क्षेत्रमा दुर्घटनामा परेका हुन्। ट्रकको भारतीय नम्बर खुल्न सकेको छैन। ट्रकसँग ठोक्किँदा बसको अगाडिको भागमा ठूलो क्षति पुगेको छ। दुर्घटनापछि सतगावाँ प्रहरी घटनास्थलमा पुगेर घाइते तीर्थयात्रीको उद्धार गरेको थियो। घाइतेहरूलाई नजिकका विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।


भारतीय सञ्चारमाध्यमका अनुसार सतगावाँ थाना प्रमुख बब्लु सिंहले प्रारम्भिक अनुसन्धानका क्रममा बस चालकलाई अत्यधिक निद्रा लागेको हुनसक्ने आशंका गरिएको बताएका छन्। तर दुर्घटनाको यकिन कारणबारे अनुसन्धान जारी रहेकाले अहिले नै निष्कर्षमा पुग्न नसकिने प्रहरीले जनाएको छ। दुर्घटनामा मृत्यु तथा घाइते हुने अधिकांश तीर्थयात्री रौतहटको गरुडा–६ पोठियाहीकै रहेको बताइएको छ। घटनापछि पोठियाही गाउँ शोकमा डुबेको छ भने मृतक तथा घाइतेका आफन्तहरू भारततर्फ पुगेका छन्।

स्थानीयले भारतमा मृत्यु भएका नेपाली तीर्थयात्रीको शव यथाशीघ्र नेपाल ल्याउने व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग गरेका छन्। भारतस्थित नेपाली दूतावास तथा स्थानीय प्रशासनसँग समन्वय गरी मृतकको शव नेपाल ल्याउन तथा घाइतेको उपचार र उद्धारलाई प्रभावकारी बनाउन तत्काल पहल गर्नुपर्ने उनीहरूको माग छ।


दुर्घटनामा कति जना घाइते भएका छन् र उनीहरूको अवस्था कस्तो छ भन्नेबारे विस्तृत विवरण भने अझै प्राप्त हुन सकेको छैन।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।