रौतहट, २९ साउन । चालकलाई कुटपिट गरिएको घटनाको विरोधमा रौतहटको सदरमुकाम गौरमा शुक्रबार बिहान सवारी चालकहरूले चक्काजाम गरेका छन्। चालकहरूले दोषीलाई पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने र घाइते चालकलाई न्याय दिनुपर्ने माग गर्दै सडक अवरुद्ध गरेका हुन्।
गौर नगरपालिका–४ स्थित बसपार्क नजिक गौर–चन्द्रनिगाहपुर सडकखण्डमा ईभीलगायतका सवारीसाधन सडकमा तेर्साएर चालकहरूले केही समय प्रदर्शन गरेका थिए। चक्काजामका कारण वीरन्द्र राजमार्गमा समेत सवारी आवागमन प्रभावित भएको थियो।
गत सोमबार गौर-गंगापिपरा सडकखण्डअन्तर्गत सिर्सिया क्षेत्रमा सडकमा रहेको कुकुरलाई जिपले ठक्कर दिएर मारेको विषयलाई लिएर चालक अरविन्द पण्डितमाथि कुटपिट भएको आरोप छ।
दुर्गा भगवती गाउँपालिका–३ का २५ वर्षीय पण्डितका अनुसार पाहुना लिएर गन्तव्यतर्फ जाँदै गर्दा राजदेवी नगरपालिका–२ हजमिनियामा उनको गाडी जबर्जस्ती रोकेर गौर नगरपालिका–९ का राजवंश सिंह र उनका छोरा आयुष सिंहले घरमा लगेर कुटपिट गरेका थिए।
पीडित पण्डितले आफूलाई कुकुरजस्तै बाँधेर समेत कुटपिट गरिएको बताएका छन्। घटनामा घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको छ। घटनाको अनुसन्धानका क्रममा प्रहरीले राजवंश सिंहलाई पक्राउ गरिसकेको छ भने उनका छोरा आयुष सिंह फरार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
दोषीलाई कारबाहीको माग गर्दै चालकहरूले शुक्रबार बिहानैदेखि बसपार्कमा प्रदर्शन गरेपछि प्रहरीले उनीहरूलाई सम्झाइबुझाइ गरी सडक खुलाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमले बताए।
उनका अनुसार केही समय अवरुद्ध भएको सडक खुलेसँगै गौर बसपार्कबाट सवारीसाधनको आवागमन सामान्य अवस्थामा फर्किएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

