म्याग्दी, २६ साउन। अन्नपूर्ण गाउँपालिका, ६ घारको पोखरेबगर स्थित १४ मेगावाट क्षमताको घारखोला जलविधुत आयोजनाको पावरहाउस पहिरोले पुरेको छ ।
पहिरोमा परी एक जना सुरक्षा गार्ड वेपत्ता रहेको आशंका छ ।
राती ३ बजे पावरहाउसको पछाडी रहेको ल्यासीको भीरबाट रकफल भै खस्दा पावरहाउसमा क्षती पुग्नुको साथै त्यहाँ सुरक्षार्थ खटिएका खिमबहादुर वरुवाल (दिपक) सम्पर्कमा नआएको स्थानीय प्रेमबहादुर बरुवालले बताए ।
‘राती भएकोले धेरै देखिएको छैन । पावरहाउसको पछाडी रहेको पहाडको माथिल्लो पत्र खसेर गार्ड हाउस समेत पावरहाउसको केही खण्ड पुरिएको देखिन्छ । सुरक्षा गार्ड सम्पर्कमा आउनु भएको छैन, खोज्दै छौं’ उनले भने।
०८० असार बाट यो पावरहाउस सञ्चालनमा आएको थियो । अन्नपूर्ण गाउँपालिका, ५ कुरिलाखर्कमा बाँध बनाई घारखोलाको पानी ३ हजार ५ सय मिटर लामो सुरुङबाट सोही गापा, ६ अमिलाकाफल स्थित आउटलेटबाट १२ सय मिटर पेनस्टक पाईपमा ४ सय ८५ मिटर हेडबाट बेनी–जोमसोम सडकको पोखरेबगरमा रहने विधुत गृहमा जोडिएको छ ।

