अमेजनको संस्थापक जेफ बेजोसले लिभुरपुल फुटबल क्लबमा लगानी गर्ने

काठमाडौं, २६ साउन । अमेजनका संस्थापक जेफ बेजोससहितको एउटा लगानीकर्ता समूह (कन्सोर्टियम) प्रिमियर लिग क्लब लिभरपूलमा करिब एक तिहाइ हिस्सा खरिद गर्ने सम्झौताको नजिक पुगेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।

हिजो सोमबार आएका बिभिन्न समाचारहरूका अनुसार यस लगानीकर्ता समूहमा फेसबुकका सह–संस्थापक एडुआर्डो साभरिन पनि समावेश रहेका छन्।


स्काई न्युजका अनुसार यस समूहको नेतृत्व भारतीय स्टिल व्यवसायी लक्ष्मी मित्तलका ज्वाइँ तथा इङ्ल्यान्डको दोस्रो श्रेणीको क्लब ‘क्विन्स पार्क रेन्जर्स’का पूर्व सेयरधनी अमित भाटियाले गरिरहेका छन्।

साथै, लिभरपूलको स्वामित्व रहेको ‘फेनवे स्पोर्ट्स ग्रुप अर्थात एफएसजीले यसै साता सम्झौताको घोषणा गर्न सक्ने बताइएको छ।

प्राप्त जानकारी अनुसार, यस लगानीले क्लबको मूल्य करिब ५.९ अर्ब अमेरिकन डलर कायम गर्नेछ, जुन फुटबल क्लबको सम्झौतामा अहिलेसम्मकै उच्च मूल्याङ्कन मध्ये एक हुनेछ।

सन् २०१० मा लिभरपूलको स्वामित्व लिएको एफएसजीले क्लबमाथि आफ्नो नियन्त्रण कायम राख्दै पछिल्ला वर्षहरूमा बाह्य लगानीको सम्भावनाबारे खोजी गरिरहेको थियो। उल्लेखित मूल्याङ्कनमा सम्झौता भएमा एफएसजीको १६ वर्षे स्वामित्वको अवधिमा लिभरपूलको मूल्यमा भएको भारी वृद्धि स्पष्ट हुनेछ। लिभरपूल वा एफएसजी कसैले पनि यी समाचारहरूबारे तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्।

६२ वर्षीय बेजोस विश्वका धनी व्यक्तिहरूमध्ये एक हुन् । फोर्ब्स पत्रिकाका अनुसार उनको कुल सम्पत्ति २८० अर्ब डलरभन्दा बढी छ जबकि साभरिनको सम्पत्ति ३३ अर्ब डलर रहेको अनुमान गरिएको छ। बेजोसले यसअघि एनएफएलका टोलीहरू ‘सिएटल सिहक्स’ र ‘वाशिंगटन कमान्डर्स’ खरिद गर्ने प्रयास गरेको बताइए पनि अन्ततः ती दुवै सम्झौता अघि नबढाउने निर्णय गरेका थिए।

सन् २०२५ मा प्रिमियर लिगको उपाधि जितेको लिभरपूल, प्रबन्धक आर्ने स्लट र उत्कृष्ट फरवार्ड मोहम्मद सलाहको बहिर्गमन पछि अहिले संक्रमणकालीन चरणमा प्रवेश गर्दैछ। सन् २०२० मा ३० वर्षपछि लिभरपूललाई ​​पहिलो पटक ‘इङ्लिस लिग’ उपाधि जिताउने टोली निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको श्रेय पाएका माइकल एडवार्ड्सले जुलाईमा ‘फेनवे स्पोर्ट्स ग्रुप’ मा फुटबलसम्बन्धी प्रमुख कार्यकारी अधिकृतको पद छोडेका थिए।
 


About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।