चीनमा शक्तिशाली आँधी ‘डल्फिन’ को प्रवेश: १० लाखभन्दा बढी मानिसको उद्धार

काठमाडौँ । शक्तिशाली आँधी ‘डल्फिन’ चीनको पूर्वी क्षेत्रमा प्रवेश गरेपछि सांघाईसहित विभिन्न स्थानबाट १० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

झेजियाङ प्रान्तमा आँधी प्रतिघण्टा १५० किलोमिटरसम्मको वेगमा प्रवेश गरेको थियो । आँधीका कारण सांघाईमा मात्रै १ हजार ४ सय उडान रद्द भएका छन् भने यातायात सेवा प्रभावित भएको छ ।

चीनका विभिन्न क्षेत्रमा भारी वर्षा, बाढी र पहिरोको जोखिम रहेकाले बुधबारसम्म सतर्कता अपनाउन आग्रह गरिएको छ । झेजियाङको वनचौमा मात्रै करिब ९ लाख र ताइचौमा ३ लाख ९० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

आँधीका कारण सांघाईका केही पर्यटकीय क्षेत्र बन्द गरिएका छन् । झेजियाङमा आगामी केही दिनमा २५० देखि ५०० मिलिमिटरसम्म वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

‘डल्फिन’ले चीन पुग्नुअघि फिलिपिन्स, ताइवान र जापानको ओकिनावामा समेत भारी वर्षा र हावाहुरी गराएको थियो । फिलिपिन्समा आँधी र वर्षाका कारण ८ जनाको मृत्यु भएको छ भने हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।