काठमाडौं, २५ साउन । हामी प्रायः फोन चार्जरलाई सामान्य वा कम महत्त्वको वस्तु ठान्छौं। यदि तपाईंको चार्जरले सही तरिकाले जोड्दा फोनको ब्याट्री राम्ररी चार्ज गरिरहेको छ भने तपाईंलाई लाग्न सक्छ कि यसले सधैं यसरी नै काम गरिरहने छ। तर, सधैं त्यस्तो नहुन सक्छ। अन्य कुनै पनि उपकरण वा सामग्रीजस्तै, फोन चार्जर पनि समयसँगै बिग्रन वा कमजोर हुन सक्छ।
प्रायःजसो, चार्जर फेर्नुपर्ने बेला भएपछि यसले केही विशेष संकेतहरू दिन्छ। यदि चार्जर अत्यधिक तातेको छ वा यसको तार खुइलिएको वा बिग्रिएको छ भने तपाईंले नयाँ चार्जर किन्नुपर्छ । यस्ता लक्षणहरू गम्भीर खतराका संकेत हुन्।
आफ्नो हालको चार्जरको समय समयमा जाँच गरेर नयाँ चार्जर किन्ने बेला भयो कि भएन भनेर थाहा पाउन सक्नुहुन्छ। यदि चार्जरको तार काटिएको वा कनेक्टर बङ्गिएको छ भने तपाईंले नयाँ चार्जर किन्नुपर्छ। यदि यस्ता कुनै पनि समस्या देखिएमा चार्जर प्रयोग नगर्नुहोस् किनकि यसले चार्जरले राम्ररी काम नगर्ने सङ्केत गर्छ।
अझ महत्त्वपूर्ण कुरा त के हो भने यदि फोन चार्जरका तारहरू बाहिर निस्किएका वा नाङ्गा छन् भने यसलाई प्लग गर्दा तपाईंलाई विद्युतीय झट्का लाग्न सक्छ। यस्तो हुन नदिन, बिग्रिएको चार्जर प्रयोग गर्नुको सट्टा नयाँ चार्जर किन्नुहोस्।
फोन चार्जर प्लगमा जोड्दा मात्र देखिने क्षति वा खराबीका संकेतहरू जस्तै झिल्का वा धुवाँ माथि ध्यान दिनु पनि महत्त्वपूर्ण छ। यदि तपाईंले यस्ता कुनै संकेत देख्नुभयो भने सावधानी पूर्वक चार्जर निकाल्नु होस् र यसलाई फेरि कहिल्यै प्रयोग नगर्नुहोस्। प्लगमा जोड्दा झिल्का वा धुवाँ वा दुवै निस्कने चार्जरको प्रयोगले आगलागी गराउन सक्छ।
यदि तपाईंको हालको फोन चार्जरले त्यो काम गरिरहेको छैन्, जसका लागि यो किनिएको थियो भने अब नयाँ चार्जर लिने बेला भइसकेको छ। यद्यपि, चार्जरले तपाईंको डिभाइसलाई चार्ज गर्दैमा त्यो राम्रो अवस्थामा छ भन्ने हुँदैन। यदि तपाईंको चार्जर एक दुई वर्षभन्दा पुरानो भइसकेको छ भने यसले तपाईंको डिभाइसलाई कत्तिको राम्रोसँग चार्ज गरिरहेको छ भन्ने कुरामा ध्यान दिनुहोस्।
आफ्नो फोन चार्जरको बाहिरी अवस्था र कार्यप्रणालीमा ध्यान दिनु महत्त्वपूर्ण छ। जब चार्जरलाई विद्युतीय सकेट र तपाईंको उपकरणमा जोडिन्छ तब यो छुँदा अत्यधिक तातो महसुस हुन सक्छ। यस्तो अवस्थालाई कहिल्यै बेवास्ता नगर्नुहोस्। यदि फोन चार्जर अत्यधिक तातो भइरहेको छ भने यसको तारमा कुनै खराबी हुन सक्छ।
यो एउटा यस्तो समस्या हो, जसलाई बेवास्ता गरेमा आगलागी हुन सक्छ। अत्यधिक तातो हुने चार्जरले आगो नलागे पनि यसले तपाईंको उपकरणलाई भने क्षति पुर्याउन सक्छ। पूरै स्मार्टफोन नै फेर्नुको तुलनामा अत्यधिक तातो हुने चार्जर फेर्नु धेरै सस्तो पर्छ। चार्जर तुरुन्तै फेरेर तपाईंले दीर्घकालमा राम्रो रकम बचत गर्न सक्नुहुन्छ।

